निर्वाचनमा करिब ३१ अर्ब खर्च हुने अनुमान, चुनाव फागुन २१ मा हुन्छ : प्रधानमन्त्री कार्की
निर्वाचनमा करिब ३१ अर्ब खर्च हुने अनुमान, चुनाव फागुन २१ मा हुन्छ : प्रधानमन्त्री कार्की
    • बेल संचार

    • २१ माघ २०८२, बुधबार

नवलपुर ।

प्रधानमन्त्री सुशीला कार्कीले यस पटकको प्रतिनिधिसभा निर्वाचनमा करिब ३१ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको बताएकी छन्। साथै उनले आगामी फागुन २१ गते नै निर्वाचन सम्पन्न गराउन सरकार पूर्ण रूपमा सक्रिय रहेको स्पष्ट पारिन्।

मंगलबार नवलपुरमा आयोजित राष्ट्रिय सेवा दलको कार्यक्रममा सहभागी हुन पुगेकी प्रधानमन्त्री कार्कीले पत्रकारहरूसँग कुरा गर्दै निर्वाचन सर्ने हल्लाको खण्डन गरिन्। उनले भनिन्, ‘चुनाव सर्दैन। यति ठूलो तयारी र खर्च भइरहेको अवस्थामा चुनाव किन सारिन्छ र?’

प्रधानमन्त्री कार्कीका अनुसार निर्वाचन व्यवस्थापनका लागि भौतिक पूर्वाधार, सामग्री र सुरक्षासम्बन्धी आवश्यकताहरू पूरा गर्न ठूलो लगानी भइरहेको छ। यस क्रममा विभिन्न मुलुकबाट सहयोग प्राप्त भइरहेको र यस्तो सहयोग निर्वाचन नभएको भए अन्य क्षेत्रमा प्रयोग हुने उल्लेख गरिन्।

उनले निर्वाचन जसरी पनि सम्पन्न गराइने र नयाँ जनप्रतिनिधि चयन भएपछि सत्ता नयाँ सरकारलाई हस्तान्तरण गरिने प्रतिबद्धता व्यक्त गरिन्। कुनै कारणवश कतिपय स्थानमा निर्वाचन अवरुद्ध भए दोस्रो चरणमा भए पनि मतदान सम्पन्न गराइने उनले बताइन्।

विशेषगरी हिमाली जिल्लाहरूमा चिसो मौसमका कारण समस्या आए सवारी साधन प्रयोग गर्न सकिने स्थानसम्म मतदातालाई ओसारेर भए पनि निर्वाचन गराइने तयारी रहेको प्रधानमन्त्री कार्कीले जानकारी दिइन्।

प्रधानमन्त्री कार्कीले शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय निर्वाचन गराउन सरकार गम्भीर र सतर्क रहेको दोहोर्‍याइन्।

साताकाे चर्चित
सम्बन्धित