काठमाडौँ ।
पछिल्ला दिनमा बजारमा खाना पकाउने एलपी ग्यास अभाव फैलिएको हल्ला निराधार रहेको नेपाल आयल निगमले स्पष्ट पारेको छ।
कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले तथ्यांक सार्वजनिक गर्दै देशमा ग्यास आपूर्ति मागभन्दा बढी भइरहेको जानकारी दिएका छन्। उनका अनुसार दैनिक औसत ९० बुलेट (करिब १ लाख १४ हजार सिलिन्डर) ग्यासको माग रहे पनि इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट मागभन्दा बढी ग्यास लोडिङ भइरहेको छ।
गत शनिबार १ सय १८ बुलेट (१ लाख ४९ हजार ५ सय सिलिन्डर), सोमबार १ सय १५ बुलेट (१ लाख ४५ हजार ७ सय सिलिन्डर) र मंगलबार १ सय ३२ बुलेट (१ लाख ६७ हजार ३ सय सिलिन्डर) ग्यास लोडिङ भएको भट्टले बताए। लोडिङ भएका सिलिन्डरमध्ये केही नेपाल भित्रिसकेका छन् भने केही बाटोमै रहेको छ।
भट्टले आगामी चुनाव अवधिभर पनि ग्यास आपूर्ति नियमित रहिरहने दाबी गर्दै उपभोक्तालाई अनावश्यक रूपमा सिलिन्डर स्टक नगर्न आग्रह गरे। निगमले आपूर्ति सहज र पर्याप्त भएकाले ढुक्क हुन सकिने र अनावश्यक सञ्चयले बजारमा कृत्रिम दबाब सिर्जना गर्न सक्ने चेतावनीसमेत दिएको छ।