राजेन्द्र लिङ्देनको नाममा फैलिएको पोस्टर भ्रामक : तथ्य जाँच
राजेन्द्र लिङ्देनको नाममा फैलिएको पोस्टर भ्रामक : तथ्य जाँच
    • बेल संचार

    • २१ माघ २०८२, बुधबार

काठमाडौँ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले ‘अब दलितलाई मन्दिर छिर्न दिनहुँदैन’ भनेको दाबी गर्दै सामाजिक सञ्जालमा भाइरल बनेको पोस्टर भ्रामक रहेको तथ्य जाँचबाट खुलेको छ।

लिङ्देन र गाईको तस्वीर प्रयोग गरी तयार पारिएको उक्त पोस्टरमा उनको नाम जोडेर विवादास्पद अभिव्यक्ति लेखिएको छ। तर, उक्त अभिव्यक्ति उनले कहिले, कहाँ र कुन सन्दर्भमा दिएको हो भन्ने कुनै प्रमाण पोस्टरमा उल्लेख छैन।

जनवरी २९ मा फेसबुक प्रयोगकर्ता सितु सीताले सो दाबी सहितको भिडियो पोस्ट गरेपछि विषय सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएको थियो। तथ्य जाँचको क्रममा उक्त पोस्टर र भिडियोमा उल्लेख गरिएको अभिव्यक्तिको अडियो, भिडियो वा आधिकारिक समाचार स्रोत कतै पनि फेला परेन।

बरु, राप्रपा अध्यक्ष लिङ्देनले सोही दिन फेसबुकमार्फत स्पष्टीकरण दिँदै आफूले दलित समुदायको सम्बन्धमा यस्तो अभिव्यक्ति नदिएको स्पष्ट पारेका छन्। उनले आफ्नो नाम जोडेर सुनियोजित रूपमा गलत प्रचार गरिएको उल्लेख गर्दै भ्रममा नपर्न आग्रह गरेका छन्।

यस विषयमा राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले सामाजिक सञ्जालमा फैलिएको दाबी असत्य भएको बताए। उनका अनुसार पार्टीले नेपाल प्रहरीको साइबर ब्युरो तथा निर्वाचन आयोगमा उजुरी दर्ता गराइसकेको छ।

तथ्य जाँचको निष्कर्ष अनुसार, ‘अब दलितलाई मन्दिर छिर्न दिनहुँदैन’ भन्ने अभिव्यक्ति राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले दिएको प्रमाणित हुन सकेको छैन। त्यसैले सामाजिक सञ्जालमा फैलिएको उक्त दाबी अपुष्ट र भ्रामक ठहरिएको छ।

साताकाे चर्चित
सम्बन्धित