काठमाडौं ।
सेयर बजारमा देखिएको गिरावटको क्रम बुधबार पनि रोकिएन । मंगलबार १२ अंकले घटेको नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक बुधबार सामान्य उतार–चढावबीच अन्ततः घटेरै बन्द भएको हो ।
बजार समग्रमा कमजोर देखिए पनि बुधबार चार कम्पनीको सेयर मूल्य १० प्रतिशतसम्म बढ्दै सकारात्मक सर्किट लागेको छ । नेप्सेका अनुसार कालिञ्चोक दर्शन, सुपर माई हाइड्रो, सुपर मादी हाइड्रो र आँखुखोला जलविद्युत् कम्पनीमा सर्किट लागेको हो । तीमध्ये आँखुखोला जलविद्युत् सबैभन्दा धेरै कारोबार हुने कम्पनी बनेको छ ।
कारोबार सुरु हुँदा २६८३.१५ अंकमा रहेको नेप्से सूचक दिनको अन्त्यमा १.६४ अंकले घटेर २६८१.५० बिन्दुमा झरेको छ । यससँगै सेन्सिटिभ इन्डेक्स पनि ०.७० अंकले घटेको छ ।
बुधबार कारोबार भएका ३२६ कम्पनीमध्ये १३४ कम्पनीको सेयर मूल्य घटेको छ भने ११३ कम्पनीको मूल्य बढेको छ । १३ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।
समूहगत रूपमा हेर्दा बैंकिङ समूह ४.५६ अंकले घटेको छ । यस्तै जीवन बीमा १७.१९, उत्पादनमूलक ४९.६४, लघुवित्त १५.१४, सामूहिक लगानी कोष ०.०६ र अन्य समूह ७.२५ अंकले ओरालो लागेका छन् ।
तर केही समूहमा भने सुधार देखिएको छ । विकास बैंक ६.०७, वित्त २३.३३, होटल तथा पर्यटन १४.०८, जलविद्युत् १३.४०, लगानी ०.०९, निर्जीवन बीमा १५.१८ र व्यापार समूह १८.९१ अंकले बढेका छन् ।
सूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । बुधबार नेप्सेमा ८० हजार ४२२ कारोबारबाट ७ अर्ब ४९ करोड रुपैयाँ बराबरको १ करोड ६६ लाख ८२ हजार कित्ता सेयर किनबेच भएको छ ।
यो रकम मंगलबारको तुलनामा कम हो । मंगलबार नेप्सेमा साढे ८ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।