काठमाडौं ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन दुई चरणमा नगरी एकै चरणमा गर्न निर्वाचन आयोगलाई सुझाव दिएका छन् ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले निर्वाचन फागुन २१ गते नै हुने दाबी गर्दै एकै चरणमा सम्पन्न गर्नु उपयुक्त हुने बताए । उनले चुनाव निष्पक्ष, स्वच्छ र धाँधलीरहित वातावरणमा सम्पन्न हुने ग्यारेन्टी गर्न सरकार र आयोगलाई आग्रह गरे ।
‘चुनाव हुन्छ नै, फागुन २१ मै हुन्छ,’ प्रचण्डले भने, ‘तर दुई चरणमा होइन, एकै चरणमा गरियोस् भन्ने सुझाव सरकारलाई पनि दिन चाहन्छु । सबैभन्दा महत्वपूर्ण कुरा निष्पक्ष वातावरणको सुनिश्चितता हो ।’
स्वच्छ र निष्पक्ष निर्वाचन भए नेपाली कम्युनिष्ट पार्टी (नेकपा) देशको पहिलो पार्टी बन्ने दाबी पनि उनले गरे । सामाजिक सञ्जालमा देखिने गतिविधिले चुनावी परिणाम निर्धारण नगर्ने भन्दै उनले वास्तविक निर्णय मतदाताले गर्ने बताए ।
‘धाँधलीरहित र निष्पक्ष चुनाव हुँदा नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ,’ उनले भने, ‘सोसल मिडियामा हाहा–हुहु गरेर केही हुनेवाला छैन ।’
प्रचण्डले राष्ट्रलाई एकताबद्ध गर्न सक्ने, भ्रष्टाचारविरुद्ध उभिन सक्ने र सुशासन तथा आर्थिक विकासलाई अगाडि बढाउन सक्ने नेतृत्व र पार्टीलाई नेपाली जनताले पहिल्यै चिनिसकेको दाबी गरे । साथै, अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलित ढंगले अघि बढाउन सक्ने क्षमतासमेत जनताले मूल्यांकन गरिसकेको उनको भनाइ थियो ।