काठमाडौँ ।
तिब्बती मूलका बौद्ध धर्मगुरु जोनाङ ग्याल्त्साब रिन्पोछेको नेपाल आगमनले राजनीतिक र कूटनीतिक वृत्तमा नयाँ बहस र तरङ्ग सिर्जना गरेको छ । एक धार्मिक प्रवचनका लागि माघ १५ गते नेपाल आइपुगेका रिन्पोछेलाई नेपाल सरकारले उच्च सुरक्षा र सत्कार दिएको विषयलाई लिएर विभिन्न राजनीतिक दलहरूले आपत्ति जनाएका छन् ।
यसैबीच, नेपालस्थित चिनियाँ दूतावासले परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक चासो व्यक्त गरेको छ । तर, सरकारका तर्फबाट यसबारे औपचारिक प्रतिक्रिया भने अहिलेसम्म आएको छैन ।
डोल्पो समाजको निमन्त्रणामा नेपाल आएका रिन्पोछे माघ १८ गतेदेखि सुरु भएको १० दिन लामो प्रवचन कार्यक्रममा सहभागी छन् । प्रवचन समयमै सम्पन्न नभए नेपाल बसाइ थप लम्बिन सक्ने डोल्पो समाजले जनाएको छ ।
डोल्पो समाजका एक प्रतिनिधिले बेल सञ्चारसँग भने, ‘प्रवचन चलिरहेको छ । तोकिएको समयमै सकिए राम्रो, नत्र केही दिन थपिन सक्छ । प्रवचन सकेर मात्रै गुरु फर्कनुहुन्छ ।’
तर, धर्मगुरु रिन्पोछेको भ्रमणलाई सामान्य धार्मिक गतिविधि मात्र मान्न नसकिने भन्दै प्रमुख राजनीतिक दलका नेताहरूले विरोध जनाएका छन् । नेकपा वरिष्ठ नेता झलनाथ खनाल र नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले यस भ्रमणलाई ‘चीन विरोधी गतिविधि’सँग जोडेर आलोचना गरेका छन् ।
खनालले रिन्पोछेको भ्रमण धार्मिक आवरणमा कूटनीतिक रूपमा संवेदनशील विषय बनेको दाबी गर्दै यसले नेपालको स्थापित ‘एक चीन नीति’लाई कमजोर बनाएको टिप्पणी गरे । उनका अनुसार, सरकारकै संरक्षणमा यस्तो गतिविधि हुनुले नेपाल–चीन सम्बन्धलाई गम्भीर जोखिमतर्फ धकेलेको छ ।
उता, एमाले उपाध्यक्ष थापाले पनि सरकारले चीन विरोधी मानिएका दलाई लामाका निकट व्यक्तिलाई राजकीय सम्मानसहित स्वागत गरेको आरोप लगाए । उनले चीन यस विषयमा असन्तुष्ट रहेको दाबी गर्दै सरकारले यसको परिणाम भोग्नुपर्ने चेतावनीसमेत दिए ।
सन् १९७० मा तिब्बतमा जन्मिएका जोनाङ ग्याल्त्साब रिन्पोछे तुल्कु छोकी नाङपा रिन्पोछे नामले पनि चिनिन्छन् । सन् १९९३ देखि भारतमा बस्दै आएका उनी गान्देन गुम्बा विश्वविद्यालयमा अध्ययन गरेका हुन् र दलाई लामाबाट प्रवचन तथा अभिषेक प्राप्त गरेका छन् ।
रिन्पोछे हाल जोनाङ गुम्बा विश्वविद्यालय तथा भारतको शिमला र धर्मशालास्थित कालचक्र ध्यान केन्द्रमा अध्यापन गर्छन् । उनले युरोप, दक्षिण अमेरिका र ताइवानलगायत विभिन्न देशमा प्रवचन दिइसकेका छन् ।
जेनजी आन्दोलनमा तिब्बती समुदायको संलग्नताबारे आशंका भइरहेका बेला रिन्पोछेको नेपाल आगमनलाई धेरैले राजनीतिक दृष्टिले अर्थपूर्ण रूपमा हेरेका छन् । जेनजी आन्दोलनपछि प्रधानमन्त्री नियुक्त भएपछि सुशीला कार्कीलाई दलाई लामाबाट प्राप्त बधाइ र अहिले उनका निकट मानिने रिन्पोछेको भ्रमणले नेपालको राजनीतिक वातावरण थप तरङ्गित बनेको विश्लेषण भइरहेको छ ।