बर्दिया ।
बर्दियामा चितुवाको आक्रमणबाट एक युवकको ज्यान गएको छ। गुलरिया नगरपालिका–५ तुल्सीपुरका ३५ वर्षीय नन्दु रोकायको चितुवाले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको हो।
बारबर्दिया नगरपालिका–११ बेलभारस्थित जनजागृति सामुदायिक वनमा घाँस काट्न गएका बेला चितुवाले आक्रमण गरेको डिभिजन वन कार्यालय बर्दियाका सूचना अधिकारी शिवबहादुर केसीले जानकारी दिए। उनका अनुसार रोकायको घटनास्थलमै मृत्यु भएको हो।
यसअघि गत माघ ७ गते सोही क्षेत्र आसपासमा तोरीबारीमा काम गरिरहेकी बारबर्दिया नगरपालिका–११ बेलभारकी खिदनी थारूको पनि चितुवाको आक्रमणबाट ज्यान गएको थियो।
पछिल्लो समय बर्दिया जिल्लामा चितुवा तथा अन्य वन्यजन्तुको आक्रमणका घटना बढ्दै गएका छन्। डिभिजन वन कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनयता चितुवाको आक्रमणबाट छ जनाको, पाटेबाघको आक्रमणबाट एक जनाको र जंगली हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु भइसकेको छ।
लगातार बढिरहेका यस्ता घटनाले स्थानीयवासीमा त्रास बढ्दै गएको छ भने वन्यजन्तु–मानव द्वन्द्व न्यूनीकरणका लागि प्रभावकारी उपाय आवश्यक देखिएको छ।