काठमाडौँ ।
पहिचान नेपालले स्थापना काल देखि नै अपाङ्गता भएका व्यक्तिहरूका साथै विशेष गरी एकल, सीमान्तकृत, दलित, मधेसमा रहेका अपाङ्गता भएका व्यक्तिहरू व्यक्तिहरूका लागि काम गर्दै आएको छ । यसै क्रममा यही माघ २१ गते काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी संस्थाको ७ औ वार्षिक उत्सव मनाएको छ । यस वार्षिक उत्सवका अवसरमा पहिचान नेपालले मधेस प्रदेशमा रहेका अपाङ्गता भएका महिलाहरूको विषयमा गरिएको “दाइजो र बालविवाहले अपाङ्गता भएका महिलाहरू माथि परेको प्रभाव बारे अध्ययन र अनुसन्धानको प्रतिवेदन” पनि सार्वजनिक गरेको छ । यस प्रतिवेदनका विषयमा अपाङ्गता अधिकारकर्मी तथा अध्ययनकर्ता महेश्वर घिमिरेले प्रस्तुतीकरण गर्नु भएको थियो ।
यसै क्रममा उहाँले मधेस प्रदेशका बारा, महोत्तरी र सर्लाहीमा रहेका ३ सय जना विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिहरूमा १५ वटा अन्तर्वार्ता, ६ वटा फोकस ग्रुप छलफल र अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूसँग पनि गरिएको कुराकानीका आधारमा यस प्रतिवेदन तयार गरिएको बताउनु भयो । प्रतिवेदन प्रस्तुतीकरणका क्रममा उहाँले यस अध्ययनका लागि १४ वर्ष भन्दा माथिको उमेर समूहका अपाङ्गता भएका किशोरी र महिलाहरू तथा अभिभावकहरूसँग कुराकानी गरिएको, १९ देखि २९ वर्ष उमेर समूहका २७.७ प्रतिशत रहेका, ६७ % ले कुनै पनि शिक्षा नलिएको, ४७.७ % विवाहित रहेको, ४९ % अविवाहित रहेको, २१ % को अपाङ्गता भएकै कारण विवाह नभएको, २२.७ % को अपाङ्गता भएकै कारण विवाह भएको पनि अध्ययनका क्रममा पाइएको बताउनु भयो ।
साथै उहाँले यी ३ वटा जिल्लामा रहेका अपाङ्गता भएका व्यक्तिहरूको शिक्षा, विवाह, अपाङ्गताको कारण हुने सामाजिक तथा पारिवारिक विभेद, उनीहरूको आर्थिक अवस्था, दाइजोको अवस्था स्वास्थ्य तथा प्रजनन स्वास्थ्य, बालविवाह लगायतका विषयमा कुराकानी गरिएको बताउनु भयो । यी विषयमा गरिएको कुराकानीका आधारमा ७७ % ले सामाजिक सुरक्षा भत्ता पाएको, ७५ % लाई अपाङ्गता भएकै कारण विवाहमा दाइजो मागिएको, यसमा पनि २४ % ले आफैले आफ्नो विवाहमा दाइजोको लेनदेनमा कुरा गरेको, ६७ % ले दाइजो दिने गरेको, ४० % ले जातियताका आधारमा वैवाहिक विभेदको सामना गर्न परेको, ४२ % ले अपाङ्गताको आधारमा सामाजिक विभेद सहन परेको, ८२ % ले पैतृक सम्पत्ति नपाएको, खास खास जात वा समूहमा १४ वर्षको उमेरमा नै बालविवाह हुने गरेको, अपाङ्गताको छोरीको विवाह गर्दा अपाङ्गताकै कारण दोब्बर दाइजो दिनु पर्ने लगायतका समस्या तथा चुनौतीहरू रहेको बताउनु भयो ।
यसै क्रममा उहाँले आगामी दिनमा मधेस प्रदेशमा अपाङ्गता भएका किशोरी तथा महिलाहरूका यस्ता सम्सयाहरुको न्यूनीकरण गर्नका लागि सरकारको तर्फबाट शिक्षा तथा जनचेतनाका कार्यक्रमहरू सञ्चालन गरिनु पर्ने कुरामा जोड दिनु भयो । सो कार्यक्रममा पहिचान नेपालले गरेको ” दाइजो र बालविवाहले अपाङ्गता भएका महिलाहरू माथि परेको प्रभाव बारे अध्ययन र अनुसन्धानको प्रतिवेदन ” लाई विमोचन गर्दै कार्यक्रमकी प्रमुख अतिथि तथा राष्ट्रिय महिला आयोगकी सदस्य विधा कुमारी सिंन्हाले मधेस प्रदेशमा गएर त्यहाँ रहेका अपाङ्गता भएका महिलाहरूका विषयमा अध्ययन अनुसन्धान गरी यो प्रतिवेदन तयार गर्नु भएकोमा पहिचान नेपाललाई धन्यवाद दिँदै त्यहाँका समस्याहरू न्यूनीकरण गर्नका लागि यस प्रतिवेदनले सहयोग गर्ने बताउनु भयो । साथै उहाँले आगामी दिनमा पहिचान नेपाललाई आवश्यक सहयोग गर्ने र सहकार्य गरेर काम गर्ने कुरामा पनि जोड दिनु भयो ।
पहिचान नेपालको ७ औ वार्षिक उत्सवको अवसरमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी उपसचिव निरा अधिकारीले पहिचान नेपालले गरेको कामको प्रशंसा गर्दै यो प्रतिवेदन अति उपयोगी रहेको, यसले बालविवाह सम्बन्धी बनेको कानुनलाई कार्यान्वयन गर्न ठुलो सहयोग मिल्ने भन्दै मन्त्रालयलाई पनि यो प्रतिवेदन प्रति बुझाउन आग्रह गर्दै आगामी दिनमा मन्त्रालयसँग सहकार्य गरेर काम गर्न सकिने बताउनु भयो ।
त्यसै गरी उक्त कार्यक्रममा मधेस आयोगका सदस्य आभाकुमारी सिंहले पहिचान नेपालले ल्याएको प्रतिवेदन ज्यादै सकारात्मक रहेको र आगामी दिनमा मधेस प्रदेशका सिराहा, धनुषा लगायतका जिल्लाहरूमा पनि अध्ययन अनुसन्धान गर्न जरुरी रहेको र आगामी दिनमा मधेस आयोग मार्फत पहिचान नेपालसँग सहकार्य गरेर मधेस प्रदेशमा रहेका अपाङ्गता भएका महिलाहरूका विषयमा एउटा कार्यक्रमको आयोजना गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । आयोजक संस्था पहिचान नेपालकी संस्थापक अध्यक्ष तथा कार्यकारी निर्देशक इच्छा के.सी.ले संस्था स्थापना गर्दाको इतिहासलाई स्मरण गर्दै संस्थाले दुर्गम क्षेत्रमा रहेका एकल, दलित, मधेसी तथा सीमान्तकृत अपाङ्गता भएका व्यक्तिहरू र महिलाहरूका लागि काम गर्दै आएको बताउनु भयो । साथै उहाँले काम गर्ने क्रममा मदेशमा रहेका अपाङ्गता भएका महिलाहरूको नाजुक अवस्था देखे पछि त्यहाँका महिलाहरूका लागि पनि काम गर्न चाहना भएको र सुरुवात पनि गरिएको भन्दै त्यहाँको समस्या न्यूनीकरणका लागि सहयोग हुने अपेक्षाले यो “दाइजो र बालविवाहले अपाङ्गता भएका महिलाहरू माथि परेको प्रभाव बारे अध्ययन र अनुसन्धानको प्रतिवेदन ” तयार गरिएको बताउनु भयो ।
उहाँले यो प्रतिवेदन कागज नभएर एक दस्ताबेज पनि रहेको र अपाङ्गता भएका व्यक्तिहरूका लागि बनेको ऐन, कानुन तथा नीति नियमहरू कार्यान्वयन गर्नका लागि यस मार्फत सहयोग हुने भन्दै आगामी दिनमा यस प्रतिवेदनलाई नेपाली, भोजपुरी लगायतका भाषामा पनि प्रकाशन गर्ने र अपाङ्गता मैत्री बनाउनका लागि बौद्धिक, अटिजम, डाउन सिण्ड्रोम अपाङ्गता भएका व्यक्तिहरूका लागि इजि टु रिड भर्सनमा, अडियो, भिडियो र साङ्केतिक भाषामा पनि प्रकाशन गरिने बताउनु भयो । कार्यक्रममा मधेस प्रदेशबाट सहभागी हुनु भएका अपाङ्गता भएका महिलाहरूले मधेस प्रदेशमा रहेका अपाङ्गता भएका अन्य महिलाहरू र स्वयम् आफेले पनि अपाङ्गता भएकै कारण भोग्न परेको पीडाहरू सुनाउनु भएको थियो । साथै पहिचान नेपालले अपाङ्गता भएका व्यक्तिहरूका लागि गरेको कामको मूल्याङ्कन गर्दै अपाङ्गताको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाका प्रतिनिधि तथा अपाङ्गताको क्षेत्रमा सरोकार राख्ने संघ संस्थाका प्रतिनिधिहरूले आगामी दिनको सफलताको शुभकामना व्यक्त गर्नु भयो ।