चितवन ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ मा औपचारिक रूपमा चुनावी प्रचार अभियान सुरु गरेका छन्। शुक्रबार विभिन्न स्थानमा स्थापना गरिएका पार्टी कार्यालयहरूको उद्घाटन गर्दै उनले आफ्नो अभियानलाई अघि बढाएका हुन्।
अभियानको सुरुवातमै लामिछानेले चुनावी प्रतिस्पर्धालाई व्यक्तिगत वा दलगत आरोप–प्रत्यारोपभन्दा माथि उठाउनुपर्ने धारणा व्यक्त गरे। “अबको लडाइँ कुनै नेता वा उम्मेदवारसँग होइन, गरिबी, अशिक्षा र बेरोजगारीजस्ता देशका जटिल समस्यासँग हो,” उनले भने।
उनले कार्यकर्तालाई चुनावी अभियानमा संयम अपनाउन आग्रह गर्दै कसैले गाली गरे पनि प्रतिवाद नगर्न निर्देशन दिए। “हाम्रो जवाफ मतदानको दिन मतपत्रमा हुनेछ,” उनले थपे।
देशभर चुनावी कार्यक्रम तय भएकाले चितवनमा लामो समय बस्न नपाउने उल्लेख गर्दै लामिछानेले मतदातासँग समर्थन मागे। उनले परिवर्तनको यात्रामा साथ दिन अपिल गर्दै अभियानलाई सकारात्मक र मुद्दाकेन्द्रित बनाउने प्रतिबद्धता व्यक्त गरे।