काठमाडौँ ।
राष्ट्रियसभामा नेपाली कम्युनिष्ट पार्टीका सांसद मायाप्रसाद शर्माले आगामी निर्वाचन निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आवश्यक सबै तयारी गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
शुक्रबारको बैठकमा बोल्दै उनले चुनावी प्रचारका क्रममा सामाजिक सञ्जालमार्फत भइरहेका आपत्तिजनक टिप्पणी र गालीगलौजप्रति आपत्ति जनाए। सम्बन्धित निकायले त्यस्ता गतिविधिमा रोक लगाउन सक्रिय भूमिका खेल्नुपर्ने उनको भनाइ थियो।
“निर्वाचनमा तँछाडमछाड होइन, स्पष्ट सैद्धान्तिक दृष्टिकोण लिएर जनतामाझ जानुपर्छ,” उनले भने, “समाजवाद हो कि जनवाद हो कि लोकतन्त्र—दलहरूले आफ्नो धार स्पष्ट राखेपछि जनतालाई बुझ्न सजिलो हुन्छ।”
उनका अनुसार सामाजिक सञ्जालमा जथाभावी लेख्ने र व्यक्तिगत आक्रमण गर्ने प्रवृत्तिले राजनीतिक संस्कारलाई कमजोर बनाउने खतरा छ। दलहरूले विचार र कार्यक्रममार्फत जनताको विश्वास जित्नुपर्ने उनले जोड दिए।
सांसद शर्माले जाजरकोटलगायत भूकम्प प्रभावित क्षेत्रका पीडितका लागि राहत व्यवस्थापनमा ढिलाइ नगर्न पनि सरकारलाई सचेत गराए। उनका अनुसार विपद् व्यवस्थापनमा संवेदनशीलता र तीव्रता दुवै आवश्यक छन्।