काठमाडौं ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुने विश्वास व्यक्त गरेका छन्। प्रारम्भमा सुरक्षा अवस्थाबारे चासो र जिज्ञासा रहे पनि अहिले वातावरण अनुकूल बन्दै गएको उनको भनाइ छ।
निर्वाचन घोषणा भएको भोलिपल्टदेखि नै सुरक्षाका विषयमा छलफल सुरु गरिएको उल्लेख गर्दै उनले भने, “यो शताब्दीकै सुरक्षाको सन्दर्भमा पेचिलो अवस्था हुनसक्ने आकलन थियो, त्यसैले हामीले सुरुदेखि नै सरकार र सुरक्षा निकायसँग समन्वय गर्दै आएका छौँ।”
भदौ २३–२४ मा भएको जेनजी आन्दोलन, त्यसपछि तत्कालीन प्रधानमन्त्रीको राजीनामा र अन्तरिम सरकार गठनजस्ता घटनाक्रमका कारण सुरक्षाप्रति स्वाभाविक चासो बढेको उनले स्वीकारे। “विद्रोहपछिको सरकार हो, तर संविधान जीवित छ,” उनले भने, “पुराना र नयाँ शक्तिबीच सन्तुलित वातावरण कायम राख्दै निर्वाचन शान्तिपूर्ण बनाउनुपर्ने जिम्मेवारी हामी सबैको हो।”
निर्वाचन प्रक्रियामा सहभागी दल, उम्मेदवार र विशेषगरी मतदाताको सुरक्षालाई प्राथमिकतामा राखेर निरन्तर छलफल भइरहेको उनले जानकारी दिए। आयोगले सरकार र सुरक्षा निकायसँग गरेको समन्वयका आधारमा अहिले मतदाताको सुरक्षा सुनिश्चित गर्न पर्याप्त तयारी भएको उनको दाबी छ।
“अब शान्ति सुरक्षाबारे धेरै टाउको दुखाउनुपर्ने अवस्था छैन,” भण्डारीले भने, “निर्वाचन ढुक्कसँग र शान्तिपूर्ण रूपमा सम्पन्न हुन्छ। बिथोल्न खोज्ने तत्त्व सुरुमै परास्त भएका छन्।”
राजनीतिक संक्रमणपछि घोषणा गरिएको निर्वाचनतर्फ सबैको नजर केन्द्रित भइरहेका बेला आयोगको यो अभिव्यक्तिले सुरक्षा व्यवस्थाप्रति आश्वस्त पार्ने सन्देश दिएको छ।