रुपन्देही–३ मा प्रलोपा संकट : उम्मेदवार काराखेती निष्कासित, अर्को दलमा जाने संकेत
रुपन्देही–३ मा प्रलोपा संकट : उम्मेदवार काराखेती निष्कासित, अर्को दलमा जाने संकेत
    • बेल संचार

    • २३ माघ २०८२, शुक्रबार

बुटवल

प्रतिनिधिसभा निर्वाचनको तयारी चलिरहेका बेला रुपन्देही–३ मा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) भित्रै हलचल देखिएको छ। पार्टीले आफ्नै उम्मेदवार गोविन्द काराखेतीलाई अनुशासन उल्लंघनको आरोपमा निष्कासन गरेको छ।

प्रलोपा रुपन्देहीका जिल्ला इन्चार्ज पंकज राईले शुक्रबार विज्ञप्ति जारी गर्दै काराखेतीले पार्टी नीति, सिद्धान्त र विधानविपरीत गतिविधि गरेको पुष्टि भएपछि केन्द्रीय, प्रदेश र जिल्ला समितिको संयुक्त निर्णयबाट कारबाही गरिएको जानकारी दिएका छन्।

विज्ञप्तिअनुसार उम्मेदवार बनेपछि काराखेतीले पार्टीका नेताहरूसँग अनुचित ढंगले रकम मागेको आरोप छ। साथै, आफ्नी श्रीमती जयन्ता काराखेतीलाई श्रम संस्कृति पार्टीबाट समानुपातिक उम्मेदवार बनाएको विषयलाई पनि गम्भीर उल्लंघनका रूपमा उल्लेख गरिएको छ।

प्रलोपा रुपन्देही–३ की इन्चार्ज रविना भण्डारीले काराखेतीले पार्टीलाई जानकारी नदिई व्यक्तिगत स्वार्थमा अर्को दलका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको सूचनापछि कारबाही अघि बढाइएको बताइन्। उनका अनुसार काराखेतीको व्यक्तिगत कदमले पार्टीलाई असर नपर्ने दाबी गरिएको छ।

काराखेतीले भने आफू राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्ने निर्णयमा पुगेको बताएका छन्। रकम मागेको आरोप अस्वीकार गर्दै उनले पार्टीको दाबीलाई असत्य भनेका छन्। तर जिल्ला इन्चार्ज राईले काराखेतीले आफ्नो ह्वाट्सएप नम्बरबाट क्यूआर कोड पठाएर रकम मागेको विषय सामाजिक सञ्जालमा सार्वजनिक गरिसकेको दाबी गरेका छन्।

काराखेती निष्कासनसँगै रुपन्देही–३ मा प्रलोपा उम्मेदवारविहीन बनेको छ। अब कसलाई समर्थन गर्ने भन्ने विषयमा पार्टीले छिट्टै निर्णय गर्ने जनाएको छ। निर्वाचनको संघारमा आएको यो घटनाले स्थानीय राजनीतिक समीकरणलाई नयाँ मोड दिएको छ।

साताकाे चर्चित
सम्बन्धित