काठमाडौँ ।
नेपालमा १५ देखि ४९ वर्ष उमेर समूहका पुरुषमध्ये ४१.८ प्रतिशतले सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेको तथ्य सार्वजनिक भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको ‘नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२’ ले पुरुषहरूमा सुर्तीको प्रयोग दर उच्च रहेको देखाएको हो।
उक्त उमेर समूहका महिलामा भने सुर्ती सेवन गर्ने दर ५.१ प्रतिशत मात्रै रहेको छ। यसले महिलाको तुलनामा पुरुषहरू सुर्तीजन्य पदार्थको प्रयोगमा धेरै अगाडि रहेको संकेत गर्छ।
सर्वेक्षणले कम उमेरमै सुर्ती सेवन सुरु हुने प्रवृत्ति पनि देखाएको छ। ७.६ प्रतिशत पुरुष र २.१ प्रतिशत महिलाले १५ वर्ष उमेर नपुग्दै पहिलो पटक चुरोट वा बिँडी सेवन गरिसकेको तथ्यांकले जनाएको छ।
सार्वजनिक स्वास्थ्यका दृष्टिले यो अवस्था चुनौतीपूर्ण मानिएको छ। विशेषज्ञहरूले सुर्तीजन्य पदार्थको प्रयोग न्यूनीकरणका लागि सचेतना, कडा नियमन र युवामुखी कार्यक्रम आवश्यक रहेको औंल्याएका छन्।









