नेपालको कुल प्रजनन दर १.९ मा झर्‍यो, किशोरी मातृत्व भने अझै चिन्ताको विषय
नेपालको कुल प्रजनन दर १.९ मा झर्‍यो, किशोरी मातृत्व भने अझै चिन्ताको विषय
    • बेल संचार

    • २६ माघ २०८२, सोमबार

काठमाडौँ ।

नेपालमा कुल प्रजनन दर घटेर प्रति महिला १.९ मा पुगेको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा सार्वजनिक ‘नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२’ अनुसार १५ देखि ४९ वर्ष उमेर समूहका नेपाली महिलाले औसतमा दुई जनाभन्दा कम सन्तान जन्माउने गरेका छन्।

प्रजनन दरमा गिरावट आए पनि किशोरी अवस्थामै मातृत्वको दर भने अझै उच्च देखिएको छ। सर्वेक्षण अनुसार १५ देखि १९ वर्ष उमेर समूहका प्रति १ हजार किशोरीमध्ये ४८ जनाले जीवित शिशु जन्माउने गरेका छन्। साथै २० देखि २४ वर्ष उमेर समूहका प्रत्येक १० महिलामध्ये एक जनाले १८ वर्ष नपुग्दै सन्तान जन्माइसकेको तथ्यांकले देखाएको छ। यसले बालविवाह र कम उमेरमै गर्भधारणको समस्या अझै कायम रहेको संकेत गर्छ।

परिवार नियोजनतर्फ विवाहित महिलामध्ये ३५ प्रतिशतले मात्र कुनै न कुनै साधन प्रयोग गर्ने गरेका छन्। आधुनिक साधन प्रयोग गर्नेहरूमध्ये करिब ५५ प्रतिशत महिलाले सन्तुष्टि व्यक्त गरेका छन्।

मातृत्व स्वास्थ्य सेवामा भने सकारात्मक सुधार देखिएको छ। सर्वेक्षण हुनुभन्दा दुई वर्षअघिसम्म सन्तान जन्माएका ८५ प्रतिशत महिलाले कम्तीमा चार पटक पूर्वप्रसूति जाँच गराएको पाइएको छ। ९०.५ प्रतिशत प्रसूति स्वास्थ्य संस्थामै हुने र ९१.४ प्रतिशत दक्ष स्वास्थ्यकर्मीको निगरानीमा हुने गरेको देखिएको छ।

तर सिजरियन शल्यक्रियामार्फत प्रसूति गराउने दर २५.३ प्रतिशत पुग्नुले शल्यक्रियाको बढ्दो प्रयोगबारे थप अध्ययन र निगरानी आवश्यक रहेको संकेत गरेको छ।

साताकाे चर्चित
सम्बन्धित