३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरण: ‘गोरे’लाई थप १० वर्ष कैद, उच्च अदालतको फैसला
३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरण: ‘गोरे’लाई थप १० वर्ष कैद, उच्च अदालतको फैसला
    • बेल संचार

    • २६ माघ २०८२, सोमबार

काठमाडौँ ।

बहुचर्चित ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा उच्च अदालत विराटनगरले महत्वपूर्ण फैसला सुनाएको छ। जिल्ला अदालत मोरङबाट जन्मकैद सजाय पाएका चूडामणि उप्रेती ‘गोरे’लाई उच्च अदालतले सनम शाक्यको हत्या कसुरमा थप १० वर्ष कैद सजाय सुनाएको हो।

न्यायाधीशद्वय महेन्द्रनाथ उपाध्याय र प्रकाशचन्द्र अधिकारीको संयुक्त इजलासले उक्त आदेश दिएको हो। यसअघि मोरङ जिल्ला अदालतले सुन तस्करीमा प्रमाण नपुगेको ठहर गर्दै हत्या अभियोगमा मात्र ८ जनालाई सजाय सुनाएको थियो।

२०७४ फागुन १८ मा उर्लाबारीमा सनम शाक्यको हत्या भएको थियो। तस्करी गरेर ल्याइएको ३३ किलो सुन हराएपछि ‘गोरे’ नेतृत्वको समूहले शाक्यलाई यातना दिएको र त्यसै क्रममा मृत्यु भएको अभियोग थियो। जिल्ला अदालतले ‘गोरे’सहित ६ जनालाई जन्मकैद, राजन कुमारलाई ३ वर्ष र मदन प्रसाद घिमिरेलाई ६ महिना कैद सजाय सुनाएको थियो।

उच्च अदालतले भने केही अभियुक्तको सजाय घटाएको छ। नरेन्द्र कार्की, मोहन काफ्ले र भोजराज भण्डारीको हकमा सजाय १० वर्ष कायम गरिएको छ। मतियारका रूपमा संलग्न मदन सिलवाललाई ३ वर्ष कैद सुनाइएको छ। लाक्पा शेर्पा र भविन तामाङको हकमा जिल्ला अदालतकै फैसला सदर गरिएको छ।

के थियो घटना?

२०७४ मा फ्लाई दुबईको विमानमार्फत तस्करी गरेर ल्याइएको ३३ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको भनिए पनि बीचमै हराएको थियो। त्यसपछि तस्कर समूहले सुनको खोजी गर्ने क्रममा सनम शाक्यलाई नियन्त्रणमा लिई धरान र मोरङ क्षेत्रमा यातना दिएको आरोप छ।

घटनापछि प्रहरी अनुसन्धान टोली काठमाडौँबाट पूर्वतर्फ खटिएको थियो। सनमको शव धरानबाट बरामद गरी विराटनगर लगिएको थियो। अनुसन्धान क्रममा केही प्रहरी अधिकारीको भूमिकामाथि समेत प्रश्न उठेको थियो।

सहसचिव ईश्वरराज पौडेल नेतृत्वको समितिले लामो अनुसन्धान गरे पनि ३३ किलो सुन भने फेला परेन। पछि भारतको कोलकातामा ३३ किलो सुन बरामद भएको दाबी गरिए पनि त्यसलाई नेपाल ल्याउने प्रक्रिया अघि बढेन।

उच्च अदालतको पछिल्लो फैसलाले लामो समयदेखि चर्चामा रहेको यो प्रकरणलाई नयाँ मोड दिएको छ।

साताकाे चर्चित
सम्बन्धित