‘सुशील दा’को सम्झना: सरलता, निष्ठा र संविधानको ऐतिहासिक क्षण
‘सुशील दा’को सम्झना: सरलता, निष्ठा र संविधानको ऐतिहासिक क्षण
    • बेल संचार

    • २६ माघ २०८२, सोमबार

काठमाडौँ।

नेपाली कांग्रेसका तत्कालीन सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको आज १०औँ स्मृति दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। नेपाली राजनीतिमा सरल जीवनशैली, स्वच्छ छवि र अडिग निष्ठाका लागि चिनिने ‘सुशील दा’लाई कांग्रेस वृत्तमा आज पनि ‘सन्त नेता’का रूपमा सम्झिने गरिन्छ।

२०७२ असोज ३ गते संविधानसभामार्फत नेपालको नयाँ संविधान जारी हुँदा उनी मुलुकका प्रधानमन्त्री थिए। सात दशक लामो राजनीतिक संघर्षपछि संविधानसभाबाट संविधान जारी गर्ने ऐतिहासिक क्षण उनको नेतृत्वमै सम्भव भएको थियो। संविधान जारी भएको चार महिनापछि, २०७२ माघ २६ गते, निमोनियाबाट ग्रसित कोइरालाको महाराजगन्जस्थित निवासमै निधन भएको थियो।

१९३९ सालमा विराटनगरमा जन्मिएका कोइराला २०१० सालदेखि राजनीतिमा सक्रिय थिए। २०१७ सालमा तत्कालीन राजा महेन्द्रले निर्वाचित सरकार अपदस्थ गरेपछि उनी प्रजातन्त्र पुनःस्थापनाको अभियानमा होमिए। त्यसपछि १६ वर्ष भारतमा निर्वासन जीवन बिताउँदै नेपाली कांग्रेसको मुखपत्र ‘तरुण’ सम्पादन गरेका उनले नेपाल र भारतमा गरी करिब पाँच वर्ष राजनीतिक बन्दीजीवन पनि व्यतीत गरे।

२०३६ सालको जनमत संग्रहदेखि २०४६ सालको ऐतिहासिक जनआन्दोलनसम्म उनले बहुदलीय लोकतन्त्रका पक्षमा अग्रपंक्तिमा रहेर भूमिका खेले। कांग्रेसको केन्द्रीय सदस्य, महामन्त्री, उपसभापति हुँदै १२औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका कोइरालाले प्रधानमन्त्री बाहेक अन्य सरकारी पद अस्वीकार गर्ने दुर्लभ उदाहरण प्रस्तुत गरेका थिए। २०४६ पछि पटक–पटक मन्त्री र उपप्रधानमन्त्री बन्न आग्रह भए पनि उनले स्वीकार गरेनन्।

२०४८, २०५६ र २०७० सालमा बाँकेबाट निर्वाचित भएका उनले दोस्रो संविधानसभा निर्वाचनपछि ३७औँ प्रधानमन्त्रीको रूपमा जिम्मेवारी सम्हाले। संविधान जारी गर्ने राष्ट्रिय सहमतिको वातावरण बनाउन उनले खेलेको समन्वयकारी भूमिकालाई उनका सहकर्मीहरू आज पनि उच्च सम्मानका साथ स्मरण गर्छन्।

कांग्रेस सभापति गगन थापाले कोइरालाको योगदानले संविधानको प्रभावकारी कार्यान्वयनतर्फ प्रतिबद्ध रहन प्रेरणा दिएको बताएका छन्। त्यस्तै नेता डा. शेखर कोइरालाले उनलाई निष्ठावान र त्यागी नेताका रूपमा स्मरण गर्दै संविधानसभाबाट संविधान जारी गर्ने ऐतिहासिक उपलब्धि उनको दृढ संकल्पकै परिणाम भएको उल्लेख गरेका छन्।

पाँच दशकभन्दा बढी राजनीतिक जीवन बिताएका सुशील कोइरालाको सरल जीवन, सिद्धान्तप्रतिको अडान र सत्ताभन्दा मूल्यलाई प्राथमिकता दिने शैली नेपाली राजनीतिका लागि आज पनि प्रेरणादायी मानिन्छ।

साताकाे चर्चित
सम्बन्धित