काठमाडौं ।
प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनमा कुनै पनि सुरक्षा चूक हुन नदिने उद्देश्यका साथ सुरक्षा फौजलाई विशेष निर्देशन दिएकी छन्। महाशिवरात्रि तथा सेना दिवसको पूर्वसन्ध्यामा सैनिक मुख्यालय जङ्गी अड्डामा आजदेखि सुरु भएको पृतनापति समन्वयात्मक बैठकमा उनले विगतका त्रुटि र रिक्तताबाट सिकेर आगामी चुनाव पूर्ण सुरक्षा र समन्वयका साथ सम्पन्न गर्न आदेश दिएकी हुन्।
प्रधानमन्त्री कार्कीले भनिन्, “निर्वाचनलाई सुरक्षित बनाउन सबै सुरक्षा निकायसँग समन्वय गरी त्रुटिरहित ढंगले काम गर्नुहोस्। यसअघिका अनुभव र आगामी चुनावका आयामहरूलाई विश्लेषण गर्दै कार्य गर्नु अनिवार्य छ।”
उनले सबै राजनीतिक दलका गतिविधि अवरोधरहित सञ्चालन हुने वातावरण निर्माण गर्न र नेपाली सेनाले ‘प्रतिनिधि सभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२’ अन्तर्गत दिइएका जिम्मेवारी उत्कृष्ट ढंगले सम्पादन गर्नेमा पूर्ण विश्वास व्यक्त गरिन्।
बैठकमा प्रधानसेनापति अशोकराज सिग्देलसहित विभिन्न विभागका प्रमुख र पृतनापतिहरू सहभागी थिए। सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयका अनुसार सहभागीहरूले आफ्ना जिम्मेवारी क्षेत्रको समीक्षा, कार्य प्रगति र सुझाव प्रस्तुत गर्दै समसामयिक विषयमा छलफल गरेका थिए।