पर्सा ।
वीरगन्जको आदर्शनगरस्थित अवैध गोदाममा छापा मार्दा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार जनालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ।
सोमबार वीरगन्ज भन्सार कार्यालय र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले अवैध गोदाममा छापा मार्ने क्रममा स्थानीय व्यापारी समूहले आक्रमण गर्दा तीन जना सशस्त्र प्रहरी घाइते भएका थिए र दुईवटा सवारीसाधनमा क्षति पुगेको थियो।
पर्सा प्रहरीका प्रवक्ता हरिबहादुर बस्नेतका अनुसार पक्राउ परेका चार जनामाथि अनुसन्धान जारी छ। “सिसीक्यामेरा फुटेजको आधारमा आवश्यक अनुसन्धान भइरहेको छ, संलग्न व्यक्तिहरूको नाम पछि मात्र सार्वजनिक गरिनेछ,” उनले बताए।
अवैध गोदाममा भन्सार छली गरी राखिएको कपडा बरामद भएको छ। सशस्त्र प्रहरीले सो ठाउँबाट करिब रु १२ लाख ५० हजार मूल्यका सामान फेला पारेको जनाएको छ।









