काठमाडौं ।
अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/८३ मा कार्यान्वयन भइरहेको बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै कुल बजेटको ८५.९६ प्रतिशत मात्रै खर्च हुने संशोधित अनुमान पेश गरेको छ।
अर्थमन्त्री रामेश्वर खनालका अनुसार हाल सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट कार्यान्वयन गर्दै आएको छ। आव अन्तिसम्म १६ खर्ब ८८ अर्ब ३२ करोड मात्रै खर्च हुने अनुमान गरिएको छ।
यस अवधिमा चालु खर्च ११ खर्ब २५ अर्ब ९७ करोड, पूँजीगत खर्च २ खर्ब ४३ अर्ब ३० करोड र वित्तीय व्यवस्थामा ३ खर्ब १९ अर्ब ४ करोड खर्च हुने अनुमान अर्थ मन्त्रालयले गरेको छ।
विनियोजन अनुसार चालु बजेट ११ खर्ब ८० अर्ब, पूँजीगत ४ खर्ब ७ अर्ब र वित्तीय व्यवस्थामा ३ खर्ब ७५ अर्ब विनियोजन गरिएको थियो। पुस मसान्तसम्म चालु खर्च लक्ष्यको ४१.२५ प्रतिशत, पूँजीगत खर्च १२.१२ प्रतिशत र वित्तीय व्यवस्थामा ४०.९५ प्रतिशत मात्र खर्च भएको छ।
अर्थ मन्त्रालयले चालु आवमा आर्थिक वृद्धि लक्ष्य ६ प्रतिशत कायम रहने अनुमान पनि राखेको छ।