फेब्रुअरी १२ तारिख (बिहिबार) नेपालका लागि गणतन्त्र कोरियाली राजदूत पार्क थेयङ काठमाडौंको हायात सेन्ट्रिक होटलमा आयोजना गरिएको २०२६ आइसिटि तथा फोटोनिक्स कार्यशाला गोष्ठी कोरियाली राजदूतद्वारा उद्घाटन कार्यक्रम सम्पन्न भयो।
२०२६ आइसिटि तथा फोटोनिक्स कार्यशाला गोष्ठी नेपालमा पहिलो पटक आयोजना भएको हो र कार्यक्रमका लागि इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियर्स संस्थानको बृहत सम्मेलनको रूपमा ऐतिहासिक महत्व रहेको छ। चार दिने कार्यशाला गोष्ठी (फेब्रुअरी ११–१४, २०२६)मा रिसर्च एण्ड इनोभेसन सेन्टर नेपाल, नेपाल इन्जिनियरिङ कलेज (पोखरा विश्वविद्यालय) द्वारा संयुक्त रूपमा आयोजना गरिएको हो। यो कार्यशाला गोष्टी नेपाल च्याप्टर र आइसिटिपी फोटोनिक्स सोसाइटी नानजिङ च्याप्टरको प्राविधिक प्रायोजन तथा (कोरिया एडभान्स्ड इन्स्टिच्युट अफ साइन्स एण्ड टेक्नोलोजी) काइस्ट (ग्लोबल डिजिटल इनोभेसन) द्वारा सहआयोजन रहेको छ। उक्त कार्यक्रममा २०० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धानकर्ता, शिक्षाविद्, आविष्कारक र विद्यार्थीहरूलाई एकै मञ्चमा खडा गर्नुका साथै खोज अनुसन्धान गर्न मद्दत पुग्नेछ।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा आफ्नो मन्तव्य राख्दै, राजदूत पार्कले गोष्ठीलाई ऐतिहासिक कार्यक्रम आयोजना गरेकोमा आयोजकहरूलाई बधाई दिँदै, नेपालको वैज्ञानिक र शैक्षिक समुदायको लागि गर्व र महत्त्वपूर्ण क्षणको रुपमा उल्लेख गरे। सम्मेलनका अध्यक्ष प्रा.विकास नकर्मी, कोरिया ग्राजुएट स्कूल अफ ग्लोबल डिजिटल इनोभेसन (काइष्ट)का डीन प्रा. डा. सङ हुन हान लगायत सहकार्यमा आवद्ध सबैको खुलेर प्रशंसा गरे।
राजदूत पार्कले गणतन्त्र कोरियाको विज्ञान तथा सूचना प्रविधि मन्त्रालयको सहयोगमा काइष्टको नेतृत्वमा ग्लोबल डिजिटल इनोभेसन एण्ड इम्प्याक्ट वर्कशप २०२६ आयोजना गर्नुको महत्त्वमाथि प्रकाश पारे। उनले यस्तो सहकार्यले विज्ञान, प्रविधि र डिजिटल इनोभेसनमा नेपाल र कोरिया बीचको बढ्दो साझेदारीलाई प्रतिबिम्बित गर्ने उल्लेख गरे। त्यसैगरी आइसिटी क्षेत्र, नेपाल र गणतन्त्र कोरियाबीचको द्विपक्षीय सहयोगको प्राथमिक क्षेत्र मध्ये एक रहेको बताए। कोरिया सरकारले अन्तर्राष्ट्रिय सहयोग एजेन्सी कोइका मार्फत नेपाल सरकारलाई आइसिटी पूर्वाधार र डिजिटल क्षमता सुदृढ गर्न निरन्तर सहयोग गर्दै आएको उल्लेख गरे।
काठमाडौँको सिंहदरबारमा अवस्थित नेपाल सरकारको प्राथमिक डाटा सेन्टर, सरकारी एकीकृत डाटा सेन्टर जिआइडिसी, कोरियाली सरकारको महत्वपूर्ण आर्थिक र प्राविधिक सहयोगमा स्थापना भएको छ। जिआइडिसी मार्फत सार्वजनिक डाटा भण्डारण, व्यवस्थापन र ब्याकअप गर्ने कार्यले सार्थकता पाएको छ। त्यसैगरी, कोरिया सरकारले हेटौंडामा व्याकअप सेन्टर स्थापना गरी, भूकम्प लगायत प्राकृतिक वा मानव प्रेरित प्रकोपहरूबाट हुन सक्ने क्षति न्युनिकरणका लागि डाटा सँरक्षण गर्न उक्त सेन्टरले भूमिका खेलेको छ।
कोरियाली सरकारद्वारा अर्को महत्वपूर्ण आईटीसँग सम्वन्धित ८० लाख अमेरिकी डलर अनुदान मार्फत कोइकाले नेपाल प्रहरीको लागि आधुनिक साइबर ब्यूरोको स्थापना गरेको छ। यस परियोजनाको उद्देश्य नेपाललको डिजिटल फोरेन्सिक क्षमता बढाउनुका साथै साइबर अपराधको न्युनिकरण गर्ने अपेक्षा गरिएको छ। यहि वर्ष २०२६ को अन्त्यसम्ममा साइबर ब्यूरो सञ्चालनमा आउने योजना रहेको छ।
राजदूतले सम्मेलनमा सहभागी युवा अनुसन्धानकर्ता तथा विद्यार्थीहरूलाई डिजिटल संसारलाई सहिआकार दिने भविष्यका प्रतिनिधी पात्रको रुपमा उल्लेख गरे। आइसिटिपी फोटोनिक्स, कृत्रिम बुद्धिमत्ता र डिजिटल शासनको रूपान्तरणकारी भूमिकामा जोड दिँदै, उनले प्राविधिक प्रगति का लागि ठोस नीतिद्वारा निर्देशित हुनुका साथै अन्तर्राष्ट्रिय सहयोग मार्फत दिगो र समावेशी विकास सम्भव रहेको उल्लेख गरे। त्यसैगरी कोरिया सरकारले विकास अनुभव साझा गर्ने, नेपालको क्षमता विस्तार गर्न सहयोग गर्नुका साथै डिजिटल रूपान्तरण र नवप्रवर्तन संचालित विकासमा नेपालसँग हातेमालो गर्दै जाने गणतन्त्र कोरिया सरकारको प्रतिबद्धतालाई दोहोर्याए।