काठमाडौं ।
मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंले देशको पछिल्लो राजनीतिक गतिविधिलाई ‘डिप स्टेट’ सँग जोड्दै गम्भीर आरोप लगाएका छन्।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले काठमाडौँ महानगरका मेयर बालेन शाह, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नाम उल्लेख गर्दै उनीहरू पश्चिमा शक्तिको प्रभावमा रहेको दाबी गरे। प्रसाईंले नेपाललाई ‘युक्रेनजस्तै द्वन्द्वतर्फ धकेल्ने खेल’ भइरहेको आरोप पनि लगाए।
उनले आगामी फागुन १ गते पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्न समर्थकहरूलाई आह्वान गरे। प्रशासनले तोकेको निषेधित क्षेत्रको अवज्ञा गर्न समेत उनले चेतावनी दिएका छन्।
पत्रकार सम्मेलनमा विभिन्न भिडियो क्लिप प्रस्तुत गर्दै प्रसाईंले ‘नेसनल इन्डोमेन्ट फर डेमोक्रेसी (एनइडी)’ लगायत संस्थामार्फत नेपालमा विदेशी हस्तक्षेप भइरहेको जिकिर गरे। सामाजिक सञ्जालमार्फत जनमत प्रभावित पारिएको दाबी गर्दै उनले नयाँ राजनीतिक शक्तिहरू विदेशी एजेन्डाअन्तर्गत उदाएको आरोप लगाए।
प्रसाईंले ‘फ्री तिब्बत’ एजेन्डा, हिमाली क्षेत्रमा दलाई लामासम्बन्धी रणनीति र चीनविरुद्ध नेपाल प्रयोग गर्ने योजना रहेको समेत दाबी गरे। उनले जेन्जी आन्दोलनदेखि केही हिंसात्मक घटनासम्मलाई एउटै योजनासँग जोडेर व्याख्या गरे।
राजसंस्थालाई देशको ‘अन्तिम विकल्प’ भन्दै उनले राजनीतिक दलहरूलाई हिन्दु राष्ट्रको मुद्दामा सहमत हुन आह्वान गरे। केपी शर्मा ओलीसहितका नेताहरू सनातन हिन्दु राष्ट्र र राजसंस्था स्वीकारे सहकार्य गर्न तयार रहेको उनले बताए।
वर्तमान व्यवस्था र निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै प्रसाईंले चुनावलाई ‘विदेशी प्रभावको खेल’को संज्ञा दिए। उनले आफ्नो अभियानका कारण बैंकको ब्याजदर घटेको दाबी गर्दै सर्वसाधारण र व्यवसायीलाई आन्दोलनमा साथ दिन आग्रह गरे।
उनका अभिव्यक्तिप्रति सम्बन्धित पक्षहरूको प्रतिक्रिया भने सार्वजनिक भएको छैन।