जुम्ला ।
हिमा गाउँपालिका–१ देवारगाउँस्थित कालिका आधारभूत विद्यालयका प्रधानाध्यापक प्रेम हमालले आफ्नो ४५औँ जन्मदिनको अवसरमा विद्यालय परिसरमा धुपीका १० वटा बिरुवा रोपेर वृक्षारोपण कार्यक्रम सम्पन्न गरेका छन्।
जन्मदिनलाई व्यक्तिगत उत्सवमा सीमित नराखी विद्यालय र वातावरण संरक्षणसँग जोड्दै उनले आफू कार्यरत विद्यालयमै वृक्षारोपण गरेका हुन्। उक्त अवसरमा विद्यालय परिवारले पनि धुपीका बिरुवा रोप्नुका साथै विविध सांस्कृतिक कार्यक्रम आयोजना गरी प्रधानाध्यापक हमालप्रति सम्मान, माया र आत्मीयता व्यक्त गरेको थियो।
कार्यक्रमप्रति आभार व्यक्त गर्दै हमालले सम्मान र साथका लागि सम्पूर्ण विद्यालय परिवारप्रति हार्दिक कृतज्ञता प्रकट गरे। उनले सामाजिक सञ्जालमार्फत शुभकामना, माया र आशीर्वाद प्रदान गर्ने सबै महानुभावप्रति पनि धन्यवाद ज्ञापन गर्दै तपाईंहरूको साथ, सहयोग र सद्भावले आफूलाई अझ जिम्मेवार र समर्पित भई शैक्षिक सेवामा लागिरहन प्रेरणा मिलेको उल्लेख गरे।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गगन शाहीले धुपीका बिरुवाजस्तै विद्यालयको शैक्षिक यात्रा पनि दिनप्रतिदिन हराभरा, सुदृढ र दीर्घकालीन बनोस् भन्ने शुभकामना व्यक्त गरे।
यसअघि पनि प्रधानाध्यापक हमालले आफ्नो जन्मदिनका अवसरमा विद्यालय परिसरमा स्याउ, धुपी, देयारलगायतका विभिन्न प्रजातिका बिरुवा रोप्दै वातावरण संरक्षण र हरित विद्यालय अभियानलाई निरन्तरता दिँदै आएका छन्।










