काठमाडौँ।
निर्वाचन आयोग अन्तर्गतको केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म ६६ वटा उजुरी दर्ता भएका छन्। तीमध्ये ३२ उजुरीमा सम्बन्धित राजनीतिक दल तथा उम्मेदवारबाट स्पष्टीकरण प्राप्त भइसकेको आयोगले जनाएको छ।
आचारसंहिता उल्लङ्घन गरेको आरोपमा राजनीतिक दल, उम्मेदवार, सरकारी तथा गैरसरकारी संस्था, सञ्चारमाध्यम र पत्रकारसँग स्पष्टीकरण मागिएको हो। दर्ता भएका सञ्चारमाध्यम र पत्रकारका हकमा भने प्रेस काउन्सिल नेपालमार्फत आवश्यक कारबाहीको प्रक्रिया अघि बढाइएको आयोगका कानुन अधिकृत मोहनराज जोशीले जानकारी दिए।
जिल्लास्तरमा समेत आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरीहरू परेका छन् र त्यहाँबाटै आवश्यक जाँचबुझ तथा कारबाही भइरहेको छ। प्राप्त ३२ स्पष्टीकरणको अध्ययन जारी रहेको बताउँदै जोशीले आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि केन्द्रीय र जिल्ला स्तरका अनुगमन समिति तथा सम्बन्धित निर्वाचन कार्यालय सक्रिय रहेको स्पष्ट पारे।
आचारसंहिता, २०८२ को दफा ३२ अनुसार ७७ वटै जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीलाई आर्थिक बाहेकका विषय र प्रमुख कोष नियन्त्रक/कोप नियन्त्रकलाई आर्थिक विषयमा अनुगमन अधिकृत तोकिएको छ।
छोटो अवधिमै जिल्लास्तरमा सरोकारवालालाई आचारसंहिताबारे जानकारी गराउँदै पालना गर्ने प्रतिबद्धता गराउने कार्य तीव्र रूपमा अघि बढिरहेको आयोगले जनाएको छ। जिल्लाबाट प्राप्त उजुरीमा सम्बन्धित पक्षसँग स्पष्टीकरण मागी दोषी ठहर भए कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको बताइएको छ।