निर्वाचन सुरक्षा कडाइ : सुदूरपश्चिमका सात जिल्लाका कारागारमा नेपाली सेना तैनाथ
निर्वाचन सुरक्षा कडाइ : सुदूरपश्चिमका सात जिल्लाका कारागारमा नेपाली सेना तैनाथ
    • बेल संचार

    • ४ फाल्गुन २०८२, सोमबार

कञ्चनपुर

आसन्न निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै नेपाली सेनाले सुदूरपश्चिम प्रदेशका सात जिल्लामा रहेका कारागारको सुरक्षा जिम्मेवारी सम्हालेको छ।

मन्त्रिपरिषद्को निर्णयअनुसार संवेदनशील संरचना र कारागार सुरक्षाका लागि सेना परिचालन गरिएको हो। सेनाको श्री नं २५ वाहिनी अड्डा, भगतपुर ब्यारेकअन्तर्गत कञ्चनपुर, डडेल्धुरा, दार्चुला र बझाङका कारागारमा सैनिक टोली तैनाथ भइसकेको जनाएको छ।

त्यस्तै, श्री नं ५ वाहिनी अड्डाअन्तर्गत डोटी, कैलाली र अछामका कारागारमा समेत सेना खटिएको छ। बैतडी र बाजुरामा भने कारागार भवन निर्माणाधीन अवस्थामा रहेकाले त्यहाँ सेना परिचालन गरिएको छैन।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार कारागारसँगै धनगढीस्थित आयल निगम डिपो र केही महत्वपूर्ण विमानस्थलको सुरक्षामा पनि सेना परिचालन गरिएको छ। गेटा विमानस्थल, बाजुराको कोल्टी विमानस्थल तथा डोटी र बझाङ विमानस्थलमा सुरक्षार्थ सेना तैनाथ गरिएको जानकारी दिइएको छ।

निर्वाचन नजिकिँदै जाँदा प्रदेशभर नेपाली सेनाले गस्ती तथा विशेष सुरक्षा प्रबन्धलाई तीव्र बनाएको जनाएको छ। निर्वाचन अवधिभर सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै संयुक्त सुरक्षा संयन्त्रमार्फत निगरानी र समन्वयलाई सुदृढ गरिएको बताइएको छ।

साताकाे चर्चित
सम्बन्धित