सुखद अन्त्यको लक्ष्यसहित नेपाल आज स्कटल्यान्डविरुद्ध अन्तिम खेलमा
सुखद अन्त्यको लक्ष्यसहित नेपाल आज स्कटल्यान्डविरुद्ध अन्तिम खेलमा
    • बेल संचार

    • ५ फाल्गुन २०८२, मंगलवार

मुम्बई ।

आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत नेपालले आज समूह चरणको आफ्नो चौथो तथा अन्तिम खेल स्कटल्यान्डविरुद्ध खेल्दैछ। खेल भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा नेपाली समयअनुसार बेलुका सवा ७ बजेदेखि सुरु हुनेछ।

समूह चरणका सबै खेल वानखेडे मैदानमै खेल्ने अवसर पाएको नेपालका लागि आजको खेल प्रतिष्ठाको लडाइँ बनेको छ। लगातार तीन खेलमा पराजित हुँदै एक खेलअघि नै प्रतियोगिताबाट बाहिरिएको नेपाली टोली आज जित निकाल्दै सुखद बहिर्गमन गर्ने लक्ष्यमा छ।

नेपाल यस समूहको सबैभन्दा कमजोर प्रदर्शन गर्ने टोली बनेको छ। सुपर आठमा स्थान बनाउने स्पष्ट लक्ष्यसहित प्रतियोगितामा उत्रिएको नेपालले अपेक्षाअनुसार प्रदर्शन गर्न सकेन। तेस्रो खेलमा वेस्ट इन्डिजसँग ९ विकेटले पराजित भएपछि नेपालको सुपर आठ यात्रा औपचारिक रूपमा टुंगिएको थियो।

यसअघि पहिलो खेलमा इंग्ल्याण्डविरुद्ध नेपालले उत्कृष्ट प्रदर्शन गर्दै जित नजिक पुगेको थियो। अन्तिम समयमा खराब फिनिसिङका कारण ४ रनको झिनो हार बेहोरेपछि समर्थकहरू निराश बनेका थिए। उक्त खेलले आशा जगाए पनि त्यसपछिका खेलमा टोलीले लय समात्न सकेन।

दोस्रो खेलमा इटालीसँग १० विकेटको फराकिलो हारले नेपालको अभियान कमजोर बनायो। नेपालले दिएको १२४ रनको लक्ष्य इटालीले सहजै पूरा गर्दा ब्याटिङ, बलिङ र फिल्डिङ तीनै पक्षमा कमजोरी देखिएको थियो। लगातार खराब प्रदर्शनपछि समर्थकहरू निराश बनेका छन्।

स्कटल्यान्डले भने इटालीविरुद्ध जित हात पार्दै प्रतिस्पर्धात्मक प्रदर्शन गरेको थियो। यस समूहबाट वेस्ट इन्डिज र इंग्ल्याण्ड सुपर आठमा पुगिसकेका छन्। नेपाल र स्कटल्यान्डका लागि आजको खेल सान्त्वना जित र प्रतिष्ठाको विषय बनेको छ।

नेपालले हालसम्म तीन पटक टी–२० विश्वकप खेलेको छ र तीनै पटक समूह चरण पार गर्न सकेको छैन। सन् २०१४ मा अफगानिस्तान र हङकङलाई पराजित गरे पनि नेट रनरेटका आधारमा अघिल्लो चरण पुग्न सकेन। सन् २०२४ मा दक्षिण अफ्रिकासँग १ रनको झिनो हार बेहोर्दै बाहिरिएको नेपाल यस संस्करणमा पनि समूह चरणमै रोकिएको छ।

अब सबैको नजर आजको खेलमा छ—के नेपाल जितका साथ विश्वकप यात्रा टुंग्याउनेछ, वा हारमै अभियान समाप्त हुनेछ? यसको उत्तर मैदानमै मिल्नेछ।

साताकाे चर्चित
सम्बन्धित