अमेरिकामा सामाजिक सञ्जालले बालबालिका तथा किशोर–किशोरीको मानसिक स्वास्थ्यमा पारिरहेको प्रभावबारे बहस चर्किँदै जाँदा इन्स्टाग्रामका प्रमुख एडक मोसेरी गत साता लस एन्जल्सस्थित अदालतमा उपस्थित भए।
इन्स्टाग्रामले युवा प्रयोगकर्तामा नकारात्मक मानसिक असर पारेको आरोपसँग जोडिएको यो मुद्दा करिब ६ सातासम्म चल्ने बताइएको छ। कानुनी विश्लेषकहरूका अनुसार यसको फैसला केवल इन्स्टाग्रामका लागि मात्र नभई सम्पूर्ण सामाजिक सञ्जाल उद्योगको उत्तरदायित्व र भविष्य निर्धारण गर्ने खालको हुन सक्छ।
सुनुवाइका क्रममा एक प्रयोगकर्ताले दिनमा १६ घण्टासम्म इन्स्टाग्राम चलाउनु लत हो कि होइन भन्ने प्रश्न उठाइएको थियो। त्यसमा मोसेरीले यस्तो प्रयोगलाई ‘लत’ नभई ‘समस्याग्रस्त प्रयोग’ भनेर व्याख्या गरे। उनले लामो समयसम्म प्रयोग गर्ने बानीलाई टेलिभिजन हेर्ने बानीसँग तुलना गर्दै सबै लामो प्रयोग हानिकारक नै हुन्छ भन्ने धारणा सही नहुने जिकिर गरे।
उनको यो अभिव्यक्तिप्रति अदालतमा उपस्थित केही अभिभावकले असन्तुष्टि जनाएका थिए।
मुद्दाको केन्द्रमा रहेकी एक युवतीले इन्स्टाग्राममा बुलिङसम्बन्धी ३०० भन्दा बढी उजुरी दर्ता गराएकी थिइन्। तर ती उजुरीबारे आफूलाई जानकारी नभएको मोसेरीले अदालतमा स्वीकार गरेका छन्।
त्यसैगरी अनुहारको बनावट परिवर्तन गर्ने फिल्टरहरूले किशोर–किशोरीको आत्मसम्मानमा असर पुर्याउन सक्ने भन्दै कम्पनीभित्रैबाट चिन्ता व्यक्त गरिए पनि पर्याप्त कदम नचालिएको आरोप छ।
सुनुवाइ भइरहँदा अदालतबाहिर अभिभावक र सामाजिक अभियन्ताहरूले प्रदर्शन गरेका थिए। उनीहरूले सामाजिक सञ्जाल कम्पनीहरूले नाफाभन्दा बालबालिकाको सुरक्षालाई प्राथमिकता दिनुपर्ने माग राखे।
विरोधमा सहभागी मारियानो जैनिनले आफ्नी १४ वर्षीया छोरी गुमाएको स्मरण गर्दै सामाजिक सञ्जालको प्रभावबारे गम्भीर पुनर्विचार आवश्यक रहेको बताए।
इन्स्टाग्रामको मातृकम्पनी Meta का कानुनी प्रतिनिधिहरूले भने सम्बन्धित युवतीको जीवनमा अन्य व्यक्तिगत चुनौतीहरू पनि रहेको दाबी गरेका छन्। यस मुद्दामा YouTube को नाम पनि जोडिएको छ।
विश्लेषकहरूका अनुसार यो मुद्दाले सामाजिक सञ्जालको डिजाइन, एल्गोरिदम र बालबालिकाप्रतिको जिम्मेवारीबारे नयाँ मापदण्ड तय गर्न सक्नेछ। अमेरिकाबाट सुरु भएको यो बहस अब विश्वव्यापी सरोकारको विषय बन्दै गएको छ।