काठमाडौँ ।
अफिस, विद्यालय वा सार्वजनिक स्थान—जहाँ धेरै मानिसहरू सँगै बस्छन्, त्यहाँ सामान्य रुघाखोकीसमेत छिटो फैलिन सक्छ। तपाईंको छेउमा बसेको व्यक्तिले लगातार हाच्छ्युँ गरिरहेको छ भने भोलिपल्टै तपाईंलाई पनि घाँटी खसखस, टाउको दुखाइ वा ज्वरो आउने सम्भावना रहन्छ। यसको मुख्य कारण इन्फ्लुएन्जा अर्थात् फ्लू भाइरस हो, जुन हावामार्फत तीव्र रूपमा सर्छ।
विशेषगरी बन्द र कम हावा आवतजावत हुने ठाउँहरूमा फ्लूको जोखिम उच्च हुन्छ। संक्रमित व्यक्तिले खोक्दा, हाच्छ्युँ गर्दा वा बोल्दा निस्कने सूक्ष्म कणहरू (एरोसोल) केही समयसम्म हावामा तैरिरहन सक्छन्। त्यही हावा सास फेर्दा भाइरस शरीरमा प्रवेश गर्न सक्छ।
फ्लूको इन्क्युबेसन अवधि सामान्यतया १ देखि ३ दिनसम्मको हुन्छ। त्यसैले संक्रमित व्यक्तिसँग सम्पर्कमा आएको केही दिनमै लक्षण देखिन थाल्छ। संक्रमित सतह—जस्तै ढोकाको ह्यान्डल, मोबाइल, टेबल वा किबोर्ड—छोएपछि हात नधोई आँखा, नाक वा मुख छोएमा पनि भाइरस शरीरमा प्रवेश गर्न सक्छ।
फ्लू संक्रमित व्यक्तिको सम्पर्कमा आउँदा शतप्रतिशत सर्छ भन्ने छैन। जोखिम यी कुरामा निर्भर गर्छः
रोग प्रतिरोधात्मक क्षमता कस्तो छ?
फ्लूको खोप लगाइएको छ कि छैन?
सम्पर्क कति समय र कस्तो दूरीमा भयो?
मास्क र हात सरसफाइजस्ता उपाय अपनाइयो कि छैन?
कतिपय अवस्थामा व्यक्ति स्वयंमा लक्षण नदेखिए पनि अरूलाई भाइरस सार्न सक्छन्, जसले सङ्क्रमण नियन्त्रणलाई चुनौतीपूर्ण बनाउँछ।
फ्लूबाट बच्न दैनिक जीवनमा सानो सावधानीले ठूलो फरक पार्छः
भिडभाडमा सकेसम्म नजानुहोस्।
खोक्दा वा हाच्छ्युँ गर्दा मुख र नाक छोप्नुहोस्।
दिनमा ३–४ पटक साबुनपानीले हात धुनुहोस्।
पर्याप्त आराम (७–८ घण्टा निद्रा) लिनुहोस्।
बाहिर जाँदा मास्क प्रयोग गर्नुहोस्।
सन्तुलित आहार र पर्याप्त पानी सेवन गर्नुहोस्।
वार्षिक फ्लू खोप लगाउनुहोस्।
फ्लूका लक्षण देखिएमा आराम, आइसोलेसन र सरसफाइमा ध्यान दिनु जरुरी छ। झोलिलो तथा पोषणयुक्त खाना खानुहोस्, पर्याप्त पानी पिउनुहोस् र मास्क प्रयोग गर्नुहोस्। धेरैजसो अवस्थामा ५–७ दिनमा लक्षण कम हुन्छन्, तर पूर्ण रूपमा निको हुन १०–१५ दिन लाग्न सक्छ।
यदि ज्वरो १०२ डिग्री फरेनहाइटभन्दा बढी भएर दुई दिनभन्दा बढी रहिरहेमा, श्वास फेर्न गाह्रो भएमा, छाती दुखेमा वा अत्यधिक कमजोरी महसुस भएमा तत्काल चिकित्सकको सल्लाह लिनुपर्छ। बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला र दीर्घरोगीहरूमा विशेष सतर्कता आवश्यक हुन्छ।
मौसम परिवर्तनसँगै बढ्ने फ्लूलाई सामान्य ठान्ने बानी त्याग्नु जरुरी छ। सही जानकारी, सावधानी र समयमै उपचारले फ्लूबाट आफू र परिवारलाई सुरक्षित राख्न सकिन्छ।