मुग्लिन–मलेखु दुर्घटनाः काठमाडौँभन्दा भरतपुर उपचारका लागि नजिक र प्रभावकारी
मुग्लिन–मलेखु दुर्घटनाः काठमाडौँभन्दा भरतपुर उपचारका लागि नजिक र प्रभावकारी
    • बेल संचार

    • १२ फाल्गुन २०८२, मंगलवार

चितवन ।

पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–मलेखु सडकखण्डमा हुने सवारी दुर्घटनाका घाइतेलाई काठमाडौँभन्दा भरतपुर ल्याउँदा छिटो र सहज उपचार सम्भव हुने देखिएको छ। नारायणगढ–मुग्लिन सडकखण्ड सुधार र सहज भएपछि दूरीका हिसाबले पनि भरतपुर नजिक पर्न गएको छ।

भरतपुरस्थित सङ्घीय अस्पताल भरतपुर अस्पताल ले ट्रमा सेन्टर सञ्चालनमा ल्याइसकेको छ। यहाँ २० जना अर्थोपेडिक सर्जन र २१ जना जनरल सर्जन कार्यरत छन्। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा. डा. कृष्णप्रसाद पौडेलका अनुसार सिटी स्क्यान, एमआरआई लगायतका अत्याधुनिक उपकरण पर्याप्त छन् भने मुटु र नसासम्बन्धी जटिल उपचारसमेत यहीँ सम्भव छ।

यसका साथै चितवन मेडिकल कलेजकलेज अफ मेडिकल साइन्सेस ले पनि दुर्घटनाका घाइतेको उपचारका लागि आवश्यक जनशक्ति र पूर्वाधार तयारी अवस्थामा राखेका छन्। चिकित्सकहरूका अनुसार दुर्घटनापछि पहिलो एक घण्टा ‘गोल्डेन आवर’ भएकाले जतिसक्दो छिटो अस्पताल पुर्‍याउन सकेमा ज्यान जोगाउने सम्भावना उच्च हुन्छ।

आकस्मिक विभाग प्रमुख प्रा. डा. दयाराम लम्सालले दूरी र उपलब्ध सुविधाका आधारमा नजिकको सक्षम अस्पतालमा घाइते पठाउनुपर्नेमा जोड दिनुभयो। पछिल्ला दिनहरूमा एम्बुलेन्समै स्वास्थ्यकर्मी राखेर प्राथमिक उपचार गर्दै अस्पताल ल्याउने अभ्यास बढ्दै गएको उहाँको भनाइ छ।

यद्यपि ‘मोफसल मनोविज्ञान’ का कारण अझै पनि धेरै घाइतेलाई सिधै काठमाडौँ पठाउने प्रवृत्ति कायम रहेको चिकित्सकहरू बताउँछन्। मुग्लिन–मलेखु क्षेत्रबाट काठमाडौँ लैजाँदा उकालो र घुमाउरो सडक पार गर्दै लामो दूरी तय गर्नुपर्छ भने भरतपुर आउँदा छोटो र सहज मार्ग उपलब्ध छ।

धादिङका सहायक प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद न्यौपानेले उद्धार र व्यवस्थापन पक्षबीच समन्वयको अभाव हुँदा उपयुक्त गन्तव्य छनोटमा ध्यान नपुगेको स्वीकार गर्नुभयो। लामो समयदेखि धादिङमा पत्रकारिता गर्दै आएका पोषनाथ अधिकारीका अनुसार विगतमा नारायणगढ–मुग्लिन सडक अप्ठ्यारो भएकाले घाइते काठमाडौँ पठाउने चलन बसेको थियो, जसको निरन्तरता अहिले पनि देखिन्छ।

विशेषज्ञहरू भने दुर्घटनापछि समयमै र नजिकको सक्षम अस्पतालमा उपचार गराउन सके ज्यान जोगाउने सम्भावना उल्लेख्य रूपमा बढ्ने बताउँछन्।

साताकाे चर्चित
सम्बन्धित