हुम्लाका १५ मतदान केन्द्रमा ३ सयभन्दा कम मतदाता
हुम्लाका १५ मतदान केन्द्रमा ३ सयभन्दा कम मतदाता
    • बेल संचार

    • १३ फाल्गुन २०८२, बुधबार

हुम्ला ।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हुम्लामा कायम ६४ मतदान केन्द्रमध्ये १५ केन्द्रमा तीन सयभन्दा कम मतदाता रहेका छन्। दुर्गम भूगोल र बसाइँसराइका कारण केही केन्द्रमा मतदाता संख्या अत्यन्त न्यून देखिएको हो।

जिल्ला निर्वाचन कार्यालयका अनुसार कुल ३४ हजार ३७२ मतदाता रहेको हुम्लामा सबैभन्दा कम मतदाता ताँजाकोट गाउँपालिका–३ स्थित बानादेव आधारभूत विद्यालयमा छन्, जहाँ जम्मा ५४ जना मात्र मतदाता रहेका छन्। उक्त स्थान गाउँपालिकाको केन्द्रबाट एक दिन पैदल हिँड्नुपर्ने दुर्गम क्षेत्रमा पर्छ र सडक सञ्जाल पुगेको छैन।

सर्केगाड गाउँपालिकाका तीन मतदान केन्द्रमा पनि ३०० भन्दा कम मतदाता छन्। देबल आधारभूत विद्यालय तुम्चमा २४०, धुमचुली आधारभूत विद्यालय कल्लासमा २१६ र नीलकण्ठ प्रावि फुचामा २८८ मतदाता रहेका छन्।

चङ्खेली गाउँपालिकाका तीन केन्द्रमध्ये डाँफे आधारभूत विद्यालय नेप्कामा २४२, रारा आधारभूत विद्यालय मेखालामा १४३ र रामशाह आधारभूत विद्यालय पिपलाङमा २१२ मतदाता रहेका छन्। नेप्का पुग्न पनि एक दिन पैदल यात्रा गर्नुपर्छ।

उत्तरी क्षेत्रको नाम्खा गाउँपालिकाका आठ मतदान केन्द्रमध्ये हिमशिखर प्रावि तिलगाउँमा १३२, भृकुटी प्रावि जाँङगाउँमा २४७ र सुनखानी प्रावि हल्जीमा २९३ मतदाता छन्। तर ती गाउँका अधिकांश मतदाता हाल सदरमुकाम वा अन्य सहरमा बस्दै आएका छन्।

अरनिको प्रावि यारी (१९५), खासरपानी प्रावि मुचु (२३४), हिमालय प्रावि चाला (१५९), महाबौद्ध मावि याल्वाङ (२८०) र नमोडोछोमु प्रावि ताङ्घीन (१५९) मा पनि मतदाता संख्या न्यून छ। यी क्षेत्रमा यतिबेला बाक्लो हिउँ जमेकाले केही मतदान केन्द्रमा पुग्न कठिन भएको जनाइएको छ। हिउँ पन्छाउन प्रयास भइरहे पनि अवस्था चुनौतीपूर्ण छ।

यता, सबैभन्दा धेरै मतदाता खार्पुनाथ गाउँपालिकाको मालिका माध्यमिक विद्यालय लालिमा मतदान केन्द्रमा रहेका छन्, जहाँ एक हजार ६३ मतदाता छन्। त्यसपछि मष्टादेव आधारभूत विद्यालय अदानचुलीमा ९७७ र कोट मावि रोडीकोटमा ९३६ मतदाता रहेका छन्।

दुर्गमता र मौसमको प्रतिकूलताबीच निर्वाचन तयारीलाई प्रभावकारी बनाउने चुनौती निर्वाचन कार्यालयसामु देखिएको छ।

साताकाे चर्चित
सम्बन्धित