पुजनीय बुवा !
सेवा ढोग !
म यहाँ कर्मथलो काठमाडौँ मा आराम – कुशलका साथ दैनिक कार्यमा व्यस्त छु । सहरको भीडभाड, धुलो – धुवाँ र भागदौडबीच पनि मन भने सधैं जन्मघर र परिवारका सदस्यहरूको सम्झनामा डुलिरहन्छ । हजुर सुस्वास्थ्य र सुख–शान्तिमा हुनुहुन्छ भन्ने पूर्ण आशा राखेको छु । आउँदै गरेको प्रतिनिधि सभाको चुनावका लागि जन्मघर जाजरकोट पुग्नु भएको खबरले मनमा एक प्रकारको गर्व र आशा दुवै पलाएको छ । गाउँघरमा सबै जना सकुशल हुनुहोला भन्ने कामना गर्दै पशुपतिनाथसँग दैनिक प्रार्थना गरिरहेको छु ।
बुवा, फागुन २१ गतेको चुनाव केवल मत हाल्ने दिन मात्र होइन – यो हाम्रो पुस्ताले भोगेको पीडा र आउने पुस्ताले भोग्न नपरोस् भन्ने आशाको निर्णय गर्ने दिन हो । कर्णाली प्रदेश को विकट भूगोल, कठिन जीवनशैली र सीमित अवसरबीच हुर्किएको हाम्रो जाजरकोटले धेरै दुःख भोगिसक्यो । हामीले प्राकृतिक विपत्ति सह्यौं, गरिबी सह्यौं, राज्यको उपेक्षा सह्यौं । अब फेरि त्यही नियति दोहोरिनु हुँदैन भन्ने लाग्छ ।
बुवा, म सानो छँदा हजुरले भन्नुहुन्थ्यो -“देश बदलिन्छ, समय फेरिन्छ ।” तर ३२ वर्ष बितिसक्दा पनि गाउँको मुहार उस्तै देख्दा मन थकित हुन्छ । अझै पनि बिरामी हुँदा औषधि नपाउने अवस्था, पढ्न चाहने बालबालिकाले गुणस्तरीय शिक्षा नपाउने अवस्था, रोजगारी नपाएर युवाहरू विदेशिन बाध्य हुने अवस्था – यी सबै कुरा सम्झँदा मन भारी हुन्छ । गाउँका खाली घरहरू, बन्द ढोका र उजाड आँगनले हाम्रो असफलताको कथा सुनाइरहेका जस्ता लाग्छन् ।
पार्टीका झण्डा फेरिए, चुनावी नाराहरू फेरिए, अनुहार फेरिए तर जनताको जीवन किन फेरिएन ? सिद्धान्तहरू राम्रा थिए, भाषणहरू मीठा थिए, आश्वासनहरू ठूला थिए । तर व्यवहारमा भ्रष्टाचार, आफ्नावाद, कमिसनखोरी र सत्ता–लोभले सबै कुरा ढाकिदियो । जनताले तिरेको कर, दिएको भोट र राखेको विश्वासको उचित मूल्याङ्कन हुन सकेन ।
दुई ठूला दल मिलेर सरकार बनाउँदा जनताले ठूलो आशा गरेका थिए । तर जब शक्ति प्रदर्शन बढ्दै गयो र सुशासन कमजोर हुँदै गयो, तब युवाहरूले आवाज उठाए । “Gen-Z आन्दोलन” ले सुशासन, पारदर्शिता, रोजगारी, शिक्षा सुधार र समान अवसरको माग गर्यो । उनीहरू भविष्य खोजिरहेका थिए, अधिकार मागिरहेका थिए । तर त्यो आवाजमाथि अयोग्य,असक्षम र निरंकुस सरकारबाट दमन भयो, निर्दोष ७६ जना विद्यार्थीहरूले ज्यान गुमाउनुपर्यो भन्ने खबरले देशको आत्मा नै रोएको जस्तो लाग्यो । के यही लोकतन्त्रको मूल्य हो ? के यही परिवर्तनको परिणाम हो ?
बुवा, देशका संवेदनशील निकायहरू – विश्वविधालय, स्वास्थ्य संस्था, प्रशासन, सुरक्षा संयन्त्र, अड्डा अदालत – जनताको भरोसाका आधार हुनुपर्नेमा राजनीतिक प्रभावले कमजोर भएका देखिन्छन् । आज कुनै काम गर्न शक्तिको भर पर्नुपर्ने, घुस दिनुपर्ने, सिफारिस खोज्नुपर्ने अवस्था सिर्जना भएको छ । यस्तो अवस्था देख्दा कहिलेकाहीँ देश सम्झिँदा नै दिक्क लाग्छ ।
देश सानो छ, तर सम्भावना विशाल छन । हाम्रा छिमेकी राष्ट्रहरू भारत र चीन ले केही दशकमै ठूलो फड्को मारे । हामीसँग पनि प्राकृतिक स्रोत छन्, जलस्रोत छन्, युवा शक्ति छ, उर्वर भूमि छ । अभाव छ त केवल इमानदार सोच, दीर्घकालीन योजना र दृढ नेतृत्वको ।
बुवा, म राजनीति विरोध गर्न खोजेको होइन । म त केवल यति चाहन्छु – हाम्रो भोट अब भावनामा होइन, विवेकमा आधारित होस् । मासु–भात, पेट्रोल वा पैसाको प्रलोभनमा भविष्य साटिन नहोस् । हाम्रो मतले पाँच वर्ष मात्र होइन, पुस्तौँको दिशा निर्धारण गर्छ, ईतिहास रचिन्छ भन्ने कुरा सबैलाई सम्झाइदिनु होला ।
यिनै भ्रष्टाचारमा मुछिएका व्यक्तिहरूले निर्माण गरेको संविधानको प्रभावकारी कार्यान्वयन हुन नसक्नु दुःखद विषय हो । आफूहरूले बनाएका नीति–नियम आफ्नै पार्टी र कार्यकर्तामा लागू नहुने तर आम जनतामाथि मात्र कठोर रूपमा लागू हुने अवस्था देखिनु अत्यन्तै निराशाजनक छ । के जनताका लागि एउटा कानुन र पार्टीका लागि अर्को कानुन हो ?
तपाईंका छोराजस्तै धेरै अपाङ्गता भएका व्यक्तिहरू यही कर्मथलोमा आएर अध्ययन गरिरहेका छन्, व्यवसाय सञ्चालन गरिरहेका छन् र रोजगारी गर्दै आएका छन् । हजुरको छोरालाई जति भोट हाल्ने अधिकार छ, त्यति नै अधिकार अन्य अपाङ्गता भएका व्यक्तिहरूलाई पनि छ । उनीहरूलाई पनि आफ्नै गाउँघरमा गई मतदान गर्न मन छ । तर भौतिक संरचना अपाङ्गता–मैत्री नहुँदा उनीहरू आफ्नो मौलिक अधिकार प्रयोग गर्नबाट वञ्चित हुनु परेको छ, जुन अत्यन्तै दुःखद अवस्था हो ।
यदि जाजरकोटले समयमै असल र जिम्मेवार नेतृत्व पाएको भए, मैले सायद १७ वर्षसम्म घरपरिवारबाट टाढा रहनु पर्ने अवस्था सिर्जना हुने थिएन होला । पारिवारिक माया, संस्कार र अपनत्वबाट वञ्चित हुनुपर्ने बाध्यता पनि नआउने थियो होला । अबका सन्ततिहरूले यस्तो पीडा भोग्न नपरोस् भन्ने कामना सधैं रहनेछ ।
हामीले अब डर होइन, जिम्मेवारीका साथ निर्णय गर्नुपर्छ । हामीले अब व्यक्तिको होइन, चरित्रको मूल्याङ्कन गर्नुपर्छ । हामीले अब नाराको होइन, कार्यको हिसाब माग्नुपर्छ ।
बुवा, यसपटकको निर्णय केवल एउटा उम्मेदवार छान्ने कुरा होइन – यो हाम्रो आत्मसम्मान, हाम्रो इतिहास र हाम्रो सन्ततिको भविष्य छान्ने क्षण हो । कृपया गाउँघरका सबैलाई विवेकपूर्ण निर्णय लिन प्रेरित गरिदिनु होला । हामीले गरेको एउटा सही निर्णयले जाजरकोटको दिशा बदल्न सक्छ । हाम्रो एउटा सचेत कदमले देशको भविष्य उज्यालो बनाउन सक्छ । यहि पत्र मार्फत हजुरलाई मात्र नभई मेरा आदरणीय दाई, भाउजु, दिदि, भिनाजु र भाईहरुलाई पनि एक पटक सोचेर मात्र भोट दिन बिनम्र अनुरोध गर्दछु । हाम्रो एउटा सचेत मतले इतिहास बदल्न सक्छ ।
हजुरको आशीर्वाद नै मेरो सबैभन्दा ठूलो शक्ति हो ।
सधैं हजुरकै माया र मार्गदर्शनको अपेक्षासहित ।
हजुरको सन्तान ।
भरत बि.सी.
(माईलो छोरो)