काठमाडौं !
हरेक वर्ष १ मार्चमा विश्वभर अन्तर्राष्ट्रिय व्हील्चियर दिवस (International Wheelchair Day) मनाइन्छ। यस दिवसको मुख्य उद्देश्य व्हील्वियर प्रयोग गर्ने व्यक्तिहरूको जीवन, सहभागिता, अधिकार र समाजमा समान पहुँचबारे जनचेतना फैलाउनु हो। नेपालमा पनि प्रत्येक वर्ष १ मार्चलाई विविध कार्यक्रमका साथ मनाउने परम्परा छ। विशेषतः भृकुटीमण्डप, काठमाडौंमा र्याली, जनचेतना कार्यक्रम तथा समुदायसंगलनका कार्यक्रम आयोजना हुने गरेका छन्। यस दिन पालक-पोषण, शिक्षा, रोजगारी र सामाजिक जीवनका विभिन्न क्षेत्रहरूमा व्हील्चियर प्रयोगकर्ताहरूले खेलेको भूमिका उजागर गर्ने अभियान पनि सञ्चालन हुन्छ। यस वर्ष पनि स्पाइनल इन्जरी संघ नेपालले आयोजना गर्न लागेको “उपयुक्त व्हील्चियर, पहुँचयुक्त नेपाल स्वतन्त्र जीवन र समानता, हाम्रो अधिकार” भन्ने नाराका साथ १८औं अन्तर्राष्ट्रिय व्हील्चियर दिवस मनाइँदैछ। यस अवसरमा विभिन्न अपाङ्गता सम्बन्धी काम गर्ने संस्थाहरू सहभागी हुने भएका छन्।
कार्यक्रममा सहभागीहरूले व्हील्चियर प्रयोग गर्ने व्यक्तिहरूका दैनिक चुनौती, उपलब्धि र उनीहरूको जीवनमा समावेशीताको महत्वबारे प्रत्यक्ष अनुभव साझा गर्ने कार्यक्रम तय गरिएको छ। आयोजकका प्रतिनिधि ऋषिराम ढकालका अनुसार करिब ३०० जना अपाङ्गता भएका व्यक्तिहरू, अभिभावक र सहयोगीहरू सहभागी हुने अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय स्तरमा, यो दिवसको सुरुवात बेलायती सामाजिक अभियन्ता Steve Wilkinson ले गरेका थिए। औपचारिक रूपमा यसलाई सन् २००८ देखि विश्वभर मनाउन थालिएको हो।
यस दिन विभिन्न देशहरूमा र्याली, जनचेतना कार्यक्रम, छलफल र सम्मान समारोहका माध्यमबाट व्हील्चियर प्रयोगकर्ताहरूको योगदान र अधिकारलाई सम्मान गरिन्छ । यस दिवस मनाउनुको प्रमुख उद्देश्य भनेको व्हील्वियर प्रयोग गर्ने व्यक्तिहरूको योगदान, क्षमता र आत्मनिर्भरतालाई मान्यता दिनु हो । उदाहरणका लागि, सिरियामा १४ वर्षे हसन नामक बालकले उपयुक्त व्हील्चियर पाएपछि विद्यालयमा सहभागी हुन र खेलकुदमा भाग लिन सक्षम भएको कथा यस दिवसको सन्देशसँग मेल खान्छ। यसरी, व्हील्चियर प्रयोगकर्ताहरूले समाजमा शिक्षा, खेलकुद र नेतृत्व क्षेत्रमा योगदान पुऱ्याउँछन् । दिवसले विश्वभर अझै पनि आवश्यक व्हील्चियरको पहुँचबाट वञ्चित व्यक्तिहरू प्रति ध्यानाकर्षण गराउँछ। धेरै विकासशील देशहरूमा स्वास्थ्य सेवा, आर्थिक अवस्था र वितरण प्रणालीको कमीका कारण हजारों व्यक्तिहरू उपयुक्त व्हील्चियर नपाएर कठिन जीवन बिताइरहेका छन् । साथै, पहुँचयुक्त (accessible) वातावरणको आवश्यकता बारे जनचेतना फैलाउनु पनि यस दिवसको उद्देश्य हो। सडक पेटी, सार्वजनिक यातायात, सरकारी कार्यालय, विद्यालय र अस्पतालमा अझै पूर्ण व्हील्वियर-मैत्री सुविधा छैन।
यस दिवसले समान पहुँच र सुविधा सुनिश्चित गर्नुको महत्वबारे सन्देश प्रवाह गर्दछ । नेपालमा अनुदानमार्फत प्राप्त उपयुक्त व्हील्वियरले हजारौं अपाङ्गता भएका व्यक्तिहरूको जीवन परिवर्तन गरेको छ। उपयुक्त व्हील्वियर पाएपछि धेरैले शिक्षा हासिल गरेका छन्, रोजगारीमा संलग्न भएका छन्, आफ्नै व्यवसाय सञ्चालन गर्दै आएका छन्, विभिन्न खेलकुदमा सहभागी हुने अवसर पाएका छन् र समाजमा स्वावलम्बी जीवनयापन गर्दै आएका छन्। तर अझै पनि ग्रामीण क्षेत्रहरूमा धेरै व्यक्तिहरू व्हील्चियर नपाउँदा आफ्नो घरमा चार कोठाभित्र सीमित जीवन बिताउन बाध्य छन्। पहुँचको अभाव, आर्थिक अवस्था र पूर्वाधारको कमीले उनीहरूको दैनिक जीवनलाई कठिन बनाइरहेको छ ।
विशेषज्ञहरू भन्छन् कि समान पहुँच, पर्याप्त व्हील्चियर वितरण र पहुँच-मैत्री वातावरणको विकासले मात्र अपाङ्गता भएका व्यक्तिहरूलाई वास्तविक स्वतन्त्रता र समावेशी जीवन सुनिश्चित गर्न सक्दछ ।
अन्ततः यो दिवस स्वतन्त्रता, समान अधिकार र समावेशी समाजको पक्षमा आवाज उठाउने अवसर पनि हो। व्हील्चियर प्रयोग गर्ने व्यक्तिहरूलाई दया होइन, अधिकारको आधारमा अवसर र सम्मान दिनुपर्ने चेतना फैलाउनु नै यस दिवसको दीर्घकालीन लक्ष्य हो।