आज राति १२ बजेपछि मौन अवधि सुरु, सामाजिक सञ्जाल निगरानीमा निर्वाचन आयोग
आज राति १२ बजेपछि मौन अवधि सुरु, सामाजिक सञ्जाल निगरानीमा निर्वाचन आयोग
    • बेल संचार

    • १८ फाल्गुन २०८२, सोमबार

काठमाडौँ ।

बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ। मतदान अघिको ४८ घण्टादेखि मतदान सम्पन्न भई मतदान केन्द्र बन्द नहुन्जेलसम्म कुनै पनि प्रकारको निर्वाचन प्रचारप्रसार गर्न नपाइने व्यवस्था गरिएको छ।

निर्वाचन व्यवस्थापनका दृष्टिले मौन अवधिको विशेष महत्व रहने बताउँदै आयोगले यस अवधिमा राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम, सञ्चारकर्मी तथा मतदाताले समेत तोकिएको आचरण कडाइका साथ पालना गर्नुपर्ने जनाएको छ।

आयोगले ४ गतेदेखि १८ गतेसम्म प्रचारप्रसारको समय निर्धारण गरेको थियो। कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीका अनुसार मतदाताले दल वा उम्मेदवारको दबाबबाट मुक्त भई स्वतन्त्र रूपमा विवेकपूर्ण निर्णय लिन सकून् भन्ने उद्देश्यले मौन अवधि तोकिने गरिएको हो। यसले स्वच्छ र स्वस्थ प्रतिस्पर्धालाई प्रवर्द्धन गर्ने विश्वास आयोगको छ।

मौन अवधिमा सभा, सम्मेलन, अन्तरक्रिया, गोष्ठी, कार्यशाला लगायत कुनै पनि प्रचारात्मक गतिविधि गर्न पाइँदैन। साथै मतदान स्थलको तीन सय मिटर वरिपरि राखिएका प्रचार सामग्री हटाउन सम्बन्धित दल तथा उम्मेदवारलाई निर्देशन दिइएको छ।

सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै पनि माध्यमबाट पक्ष वा विपक्षमा प्रचार सामग्री प्रकाशन वा पोष्ट गरे कारबाही गरिने चेतावनी आयोगले दिएको छ।

शान्त र मर्यादित वातावरणमा मतदाताले आफ्नो प्रतिनिधि चयन गरून् भन्ने उद्देश्यसहित आयोगले मौन अवधिको पूर्ण पालना गर्न सबै पक्षलाई आग्रह गरेको छ।

साताकाे चर्चित
सम्बन्धित