रौतहट ।
राजपुर नगरपालिका–५ पानीटंकीस्थित राजपुरबाट अकोलवा जाने भित्री पक्की सडकखण्डको बीच भागमा फलामको ड्रमभित्र पहेँलो प्लास्टिकको बोरामा राखिएको शंकास्पद वस्तु फेला परेको छ।
आईतबार राति १:३० बजे संयुक्त सुरक्षा फौजले उक्त वस्तु देखेपछि सुरक्षाका लागि इलाका कर्डन गरी सर्वसाधारणको आवतजावत रोकिएको थियो। सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपाली सेनाको नेपाली सेना अन्तर्गतको बम डिस्पोजल टोलीलाई खबर गरिएको श्री नारायणदल गणका गणपति विश्वास विष्टले बताए ।
सोमबार बिहान १०:०० बजे बम डिस्पोजल टोलीले शंकास्पद वस्तु निष्क्रिय पारेको जनाएको छ। निष्क्रिय गरेपछि जाँच गर्दा बोराभित्र कुनै विष्फोटक पदार्थ नभई माटो मात्र रहेको पुष्टि भएको छ। सेनाका अनुसार उक्त वस्तु ‘झुटो त्रास फैलाउने उद्देश्य का रूपमा राखिएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।
नरायणदल गण ले प्रत्येक निर्वाचन क्षेत्रमा एक–एक बम डिस्पोजल टोली तैनाथ गरेको गणपति विष्टले बताए। साथै राजमार्ग सुरक्षार्थ समेत एक अतिरिक्त टोली तयारी अवस्थामा राखिएको छ। गणका अनुसार कुनै पनि स्थानमा शंकास्पद वस्तु फेला परेको खण्डमा १० देखि ३० मिनेटभित्र घटनास्थलमा पुग्ने क्षमता रहेको छ।
सुरक्षा निकायले सर्वसाधारणलाई कुनै पनि शंकास्पद वस्तु देखिएमा नछुने र तत्काल नजिकको सुरक्षा निकायलाई खबर गर्न आग्रह गरेका छन्।