बागलुङ ।
भोलि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बागलुङ क्षेत्र नं. २ को गलकोट नगरपालिका–१० स्थित रमुवा आधारभूत विद्यालयमा खटाइएका मतदान अधिकृत प्रकाश गैरे लाई जिम्मेवारीबाट हटाइएको छ।
ढोरपाटन नगरपालिकाका प्रशासकीय अधिकृत रहेका गैरेले निर्वाचन अधिकृतको जिम्मेवारी अनुसार काम गर्न नसक्ने देखिएपछि उनी हटाइएका हुन्। बागलुङ क्षेत्र नं. २ का निर्वाचन अधिकृत भीम प्रसाद सुवेदी का अनुसार मतदान अधिकृतको केही अभिव्यक्ति र गतिविधिले निर्वाचनको स्वच्छता, निष्पक्षता र विश्वसनीयतामा नकारात्मक प्रभाव पर्न सक्ने देखिएको थियो।
गैरेलाई मतपत्र र मतदान सामग्री तुरुन्तै सुरक्षा निकायलाई बुझाएर निर्वाचन अधिकृतको कार्यालयमा सम्पर्क गर्न निर्देशन दिइएको छ। यसबारे निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रशासन कार्यालय र सम्बन्धित निकायलाई समेत जानकारी गराइएको छ।
उनको स्थानमा भुवन बहादुर कुँवर लाई मतदान अधिकृतको रूपमा खटाइएको छ।