जुम्ला:
सिन्जा गाउँपालिका अन्तर्गत पर्ने भैरव माध्यमिक विद्यालय नराकोट स्थित मतदान केन्द्रमा बुधबार शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ।
बुधबार सम्पन्न मतदानमा जम्मा ८५९ मत खसेको छ। जसमध्ये महिला ४३२ र पुरुष ४२७ जनाले आफ्नो मताधिकार प्रयोग गरेका छन्। बिहानदेखि नै मतदाताको उल्लेखनीय सहभागिता देखिएको थियो।
मतदान केन्द्रमा सुरक्षा व्यवस्थासहित निर्वाचन प्रक्रिया व्यवस्थित रूपमा सञ्चालन गरिएको थियो। स्थानीय प्रशासन, सुरक्षा निकाय तथा निर्वाचनमा खटिएका कर्मचारीको समन्वयमा कुनै अप्रिय घटना बिना मतदान सम्पन्न भएको जनाइएको छ।
दिनभर मतदाताहरू शान्तिपूर्ण रूपमा लाइनमा बसेर मतदान गरेका थिए। मतदान प्रक्रिया सम्पन्न भएसँगै मतपेटिका सुरक्षित रूपमा राखिएको छ।