बेनी ।
म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार डा. महाविर पुन निर्वाचित भएका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार पुनले २२ हजार ८५० मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का हरिकृष्ण श्रेष्ठले ७ हजार ९१९ मत प्राप्त गरेका छन्।
त्यस्तै नेपाली कांग्रेसका कर्णबहादुर भण्डारीले ६ हजार ८८४ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिस्ट पार्टीका अर्जुन थापाले ३ हजार ५२९ मत पाएका छन्। मतगणना सकिए पनि निर्वाचन कार्यालयले औपचारिक घोषणा गर्न भने बाँकी रहेको जनाएको छ।
आफ्नो जन्मथलो म्याग्दीबाट चुनावी मैदानमा उत्रिएका पुनले शिक्षा क्षेत्र सुधार र विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको व्यवस्था गर्ने विषयलाई मुख्य एजेन्डा बनाएका थिए।
जिल्लामा ८६ हजार ३९७ मतदाता रहेकोमा ४६ हजार २१५ मत खसेको थियो।