गुल्मी ।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत गुल्मीमा समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ। गएराति अबेरसम्म चलेको मतगणनाको अन्तिम परिणाम अनुसार जिल्लाका दुवै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो स्थानमा रहन सफल भएको छ।
निर्वाचन कार्यालयका अनुसार गुल्मी–१ मा रास्वपाले ३० हजार ६५७ मत प्राप्त गरेको छ। नेकपा एमालेले १४ हजार १३० मत ल्याउँदै दोस्रो स्थानमा रहँदा नेपाली कांग्रेसले १२ हजार ७३१ मत प्राप्त गरेको छ। त्यस्तै नेपाल कम्युनिस्ट पार्टीले ३ हजार ३३ मत पाएको मुख्य निर्वाचन अधिकृत न्यायाधीश कृष्णप्रसाद पौडेलले जानकारी दिए।
गुल्मी–१ मा कुल १ लाख २२ हजार १८६ मतदाता रहेकोमा ६४ हजार ७८७ जनाले मतदान गरेका थिए। यस क्षेत्रबाट प्रत्यक्षतर्फ रास्वपाका उम्मेदवार सागर ढकाल निर्वाचित भइसकेका छन्।
त्यस्तै गुल्मी–२ मा पनि रास्वपा समानुपातिकतर्फ पहिलो बनेको छ। यहाँ रास्वपाले २१ हजार १९१ मत प्राप्त गरेको छ। नेकपा एमालेले १४ हजार ७१५ मत ल्याएको छ भने नेपाली कांग्रेसले १२ हजार ५६० मत पाएको छ। नेपाल कम्युनिस्ट पार्टीले २ हजार ७५२ मत प्राप्त गरेको निर्वाचन अधिकृत हरिहर पौडेलले बताए।
गुल्मी–२ मा कुल १ लाख ७ हजार ३६३ मतदाता रहेकोमा ५३ हजार ११४ जनाले मतदान गरेका थिए। यस क्षेत्रमा प्रत्यक्षतर्फ पनि रास्वपाकै उम्मेदवार गोविन्द पन्थी निर्वाचित भएका छन्।
फागुन २१ गते सम्पन्न निर्वाचनमा जिल्लाभर रहेका २ लाख २९ हजार ५४९ मतदातामध्ये १ लाख १७ हजार ९०१ मत खसेको थियो।