चितवन ।
प्रतिनिधिसभा निर्वाचन २०८२ को अन्तिम मतपरिणाम आउने क्रम जारी रहँदा युवा पुस्तामा नयाँ आशा र उत्साह देखिएको छ। जेनजी आन्दोलनपछि भएको यो निर्वाचनले देशमा स्थिर सरकार, सुशासन र रोजगारीका अवसर सिर्जना गर्ने विश्वास युवाहरूले व्यक्त गरेका छन्।
चितवनका युवाहरूले पछिल्लो राजनीतिक परिवर्तनलाई सकारात्मक रूपमा लिँदै अब बन्ने सरकारले जनताको अपेक्षा पूरा गर्नुपर्ने बताएका छन्। भरतपुर महानगरपालिका–१० का पृथ्वी धितालले निर्वाचन परिणामले युवाका मुद्दा सम्बोधन हुने विश्वास व्यक्त गरे। उनका अनुसार युवाका लागि रोजगारी सिर्जना र सुशासन स्थापना अहिलेको सबैभन्दा ठूलो आवश्यकता हो। यी विषयमा सरकारले काम गर्न नसके पुनः असन्तुष्टि र आन्दोलनको सम्भावना रहन सक्ने उनको भनाइ छ।
प्यूठानबाट उपचारका लागि चितवन आएका प्रेम श्रेष्ठले नयाँ सरकारले शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा ठोस सुधार गर्नुपर्ने धारणा राखे। जनताको विश्वास जित्न सक्ने सक्षम नेतृत्व अहिले देशलाई आवश्यक रहेको उनले बताए।
यस्तै भरतपुर–२ क्षेत्रपुरका प्रवास पराजुलीले अब सुशासनको अनुभूति व्यवहारमै देखिनुपर्ने बताए। उनले वैदेशिक रोजगारीमा रहेका युवालाई स्वदेश फर्काउने वातावरण बनाउन तथा बन्द रहेका उद्योग–कलकारखाना सञ्चालन गरेर आर्थिक गतिविधि बढाउन सरकारलाई आग्रह गरे।
भरतपुर–१४ की रचना दाहालले अहिलेको परिवर्तनलाई गम्भीरतापूर्वक लिनुपर्ने बताइन्। जनताले परिवर्तनका पक्षमा दिएको मतको सम्मान गर्दै भ्रष्टाचार अन्त्य र आधारभूत सेवामा सुधार गर्न नयाँ सरकारले प्राथमिकता दिनुपर्ने उनको भनाइ छ।
समग्रमा युवाहरू नयाँ सरकारप्रति आशावादी देखिएका छन्। युवा शक्ति विदेश पलायन हुनबाट रोक्दै स्वदेशमै अध्ययन र रोजगारीको वातावरण सिर्जना गर्नु नै अब बन्ने सरकारका लागि प्रमुख चुनौती हुने देखिएको छ।