बाँदरलाई पासोमा पारी कुकुर लगाएर मारेको भिडियो पोस्ट गर्ने युवक पक्राउ
बाँदरलाई पासोमा पारी कुकुर लगाएर मारेको भिडियो पोस्ट गर्ने युवक पक्राउ
    • बेल संचार

    • २७ फाल्गुन २०८२, बुधबार

ताप्लेजुङमा बाँदरलाई पासोमा पारेर कुकुर लगाई अमानवीय तरिकाले मारिएको भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्ने एक युवक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार पाँचथरको हिलिहाङ गाउँपालिका–२ सिंहपुर घर भई हाल ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–२ थेचम्बु बस्दै आएका २१ वर्षीय संगम भनिने छप्पु हेम्ब्यालाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरी निरीक्षक जटाशंकर यादवद्वारा जारी प्रेस विज्ञप्तिअनुसार बाँदरलाई तड्पाउँदै कुकुरले टोकाएर मारिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि विभिन्न निकाय तथा संघसंस्थाले गम्भीर चासो व्यक्त गरेका थिए। त्यसपछि प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको थियो।

अनुसन्धानका क्रममा उक्त घटना प्रतिनिधिसभा निर्वाचनअघि भएको खुलेको प्रहरीले जनाएको छ। खेतबारीको बालीनाली जोगाउन बनाइएको पासोमा परेका बाँदरमाथि कुकुर लगाई आक्रमण गराइएको र त्यसको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरिएको पाइएको छ।

पशु निर्दयतासम्बन्धी घटनामा संलग्न आरोपित हेम्ब्यालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

साताकाे चर्चित
सम्बन्धित