काठमाडौं ।
प्रतिनिधिसभा निर्वाचन दुई दिनअघि काठमाडौँको नैकाप र महाराजगन्जमा दुई गाडी आगजनी भएको अवस्थामा फेला परेको छ। प्रहरीले बिएए २८३६ नम्बरको टोयोटा कार र बा.७ च. १४०१ नम्बरको मारुती भ्यान आगजनी गरेको आरोपमा दुई जनालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ।
पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका घर भई चन्द्रागिरि–६ बस्ने २८ वर्षीय सुमन बोहरा र चन्द्रागिरि–६ घर भएका ५५ वर्षीय कृष्ण मिजार रहेका छन्। उनीहरूलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ।
सुमन बोहरा भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनमा घाइते भएका थिए। उनीसँगैको भिडियोमा उनले आफ्नो चोटको विवरण दिँदै, “आन्दोलनमा मान्छे बचाउँदै गर्दा अर्को समूहले तलबाट आगो लगाएपछि खुट्टा भाँचिएको” बताएका थिए। त्यही भिडियोमा उनले आफूले पाएको २५ हजार रुपैयाँ सहयोगसमेत देखाएका छन्।
प्रहरी अनुसन्धान अनुसार बोहराले फागुन १९ मा नैकापमा बिएए २८३६ नम्बरको टोयोटा कार आगजनी गरेको देखिन्छ। उनका साथबाट लागुऔषध ट्रामाडोलका १० ट्याब्लेट पनि बरामद भएको छ।
आगजनी गरिएको स्थानबाट दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ’ महाअभियानको पर्चा पनि फेला परेको छ। प्रहरीले अदालतबाट म्याद लिएर उनीविरुद्ध आगजनी मुद्दामा अनुसन्धान गरिरहेको छ।