काठमाडौं ।
प्रतिनिधिसभा निर्वाचनको समानुपातिक तर्फको मतगणना सकिएसँगै आगामी संसद्को शक्ति सन्तुलन लगभग स्पष्ट भएको छ । प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीबाट प्राप्त मतका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदको सबैभन्दा ठूलो दल बन्ने निश्चित देखिएको छ।
प्रत्यक्षतर्फ १२५ सिट जितेको रास्वपाले समानुपातिकबाट करिब ५७ सिट पाउने अनुमान गरिएको छ। यससँगै पार्टीको कुल सिट संख्या १८२ पुग्ने देखिएको छ, जुन दुई तिहाइ बहुमतका लागि आवश्यक १८४ सिटभन्दा मात्र दुई सिट कम हो।
२७५ सदस्यीय प्रतिनिधिसभामा दुई तिहाइ बहुमतका लागि १८४ सिट आवश्यक पर्छ। निर्वाचन आयोगले प्रयोग गर्ने ‘सेन्ट लग फर्मुला’का आधारमा दलहरूले पाएको समानुपातिक मतअनुसार सिट बाँडफाँट गर्दा यस्तो आँकडा देखिएको हो।
समानुपातिक मततर्फ रास्वपाले करिब ५१ लाख ४६ हजार ६८१ मत प्राप्त गरेको छ, जुन कुल सदर मतको करिब ४७ प्रतिशतभन्दा बढी हो।
दोस्रो ठूलो दलका रूपमा नेपाली कांग्रेस देखिएको छ। कांग्रेसले प्रत्यक्षतर्फ १८ सिट जितेको छ भने समानुपातिकबाट करिब २० सिट पाउने अनुमान छ। यसरी प्रतिनिधिसभामा कांग्रेसको कुल सिट संख्या ३८ पुग्ने देखिन्छ, जुन अघिल्लो चुनावको ८९ सिटको तुलनामा निकै कम हो।
नेकपा एमालेले प्रत्यक्षतर्फ ९ सिट जितेको छ भने समानुपातिकबाट करिब १६ सिट पाउने अनुमान गरिएको छ। यसरी एमालेको कुल सिट संख्या २५ पुग्ने देखिएको छ, जुन अघिल्लो प्रतिनिधिसभामा रहेको ७९ सिटको तुलनामा उल्लेख्य रूपमा घटेको हो।
त्यस्तै नेपाली कम्युनिस्ट पार्टीले प्रत्यक्षबाट ८ सिट जितेको छ भने समानुपातिकबाट ९ सिट पाउने सम्भावना छ। यससँगै उक्त पार्टीको प्रतिनिधिसभामा कुल १७ सिट हुने देखिएको छ।
नयाँ दल श्रम संस्कृति पार्टीले प्रत्यक्षतर्फ ३ सिट जितेको छ र समानुपातिकबाट ४ सिट पाउने अनुमान गरिएको छ। यसरी उक्त पार्टीको कुल सिट संख्या ७ पुग्ने देखिएको छ।
**राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)**ले प्रत्यक्षतर्फ १ सिट जितेको छ भने समानुपातिकबाट ४ सिट पाउने सम्भावना छ, जसअनुसार प्रतिनिधिसभामा उसको कुल ५ सिट हुनेछ।
यसपटकको निर्वाचनमा जसपा नेपाल र जनमत पार्टीले भने समानुपातिकतर्फको तीन प्रतिशत थ्रेसहोल्ड पार गर्न नसकेपछि प्रतिनिधिसभामा सिट पाउन सकेनन्।
समानुपातिक निर्वाचन प्रणालीबाट सिट पाउने दलहरूको संख्या ६ पुगेको छ। तीमध्ये श्रम संस्कृति पार्टी नयाँ राष्ट्रिय दलका रूपमा उदाएको छ। यो दल केही महिनाअघि मात्रै गठन भएको हो।
बाँकी राष्ट्रिय दलहरूमा रास्वपा, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र राप्रपा रहेका छन्।
निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार समानुपातिक मतगणना सकिएपछि अब प्राप्त सदर मतका आधारमा औपचारिक रूपमा सिट बाँडफाँट गरिनेछ। त्यसपछि दलहरूलाई तीन दिनभित्र समानुपातिक बन्दसूचीबाट सांसदहरूको नाम सिफारिस गर्न पत्र पठाइनेछ।
दलहरूले पठाएको सूची जाँच गरेपछि आयोगले समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र प्रदान गर्ने प्रक्रिया अघि बढ्नेछ।