निर्वाचन सकिएसँगै आयोगका विशेष इकाई बन्द, सूचना केन्द्रदेखि कल सेन्टरसम्म हटाइयो
निर्वाचन सकिएसँगै आयोगका विशेष इकाई बन्द, सूचना केन्द्रदेखि कल सेन्टरसम्म हटाइयो
    • बेल संचार

    • २७ फाल्गुन २०८२, बुधबार

काठमाडौँ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को मतगणना सम्पन्न भएपछि निर्वाचन आयोगले निर्वाचन लक्षित गरी स्थापना गरिएका विभिन्न विशेष इकाई तथा समन्वय केन्द्रहरू बन्द गरेको छ।

आयोगले बुधवार जारी गरेको विज्ञप्तिअनुसार निर्वाचन व्यवस्थापन, सूचना प्रवाह तथा सरोकारवाला निकायबीच समन्वयलाई प्रभावकारी बनाउन स्थापना गरिएका इकाईहरू अब आवश्यक नभएको निष्कर्षसहित बन्द गरिएको हो। आयोगको २०८२ फागुन २६ गतेको निर्णयअनुसार ती इकाईहरू फागुन २७ गतेदेखि लागू हुने गरी बन्द गरिएको जनाएको छ।

निर्वाचनसम्बन्धी सूचना प्रभावकारी रूपमा प्रवाह गर्न तथा मतदाता र सरोकारवाला निकायसँग समन्वय कायम गर्न आयोगले २०८२ पुस ११ गतेदेखि निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र सञ्चालनमा ल्याएको थियो।

त्यस्तै, मतदाता र सर्वसाधारणका निर्वाचनसम्बन्धी जिज्ञासा सम्बोधन गर्न माघ ५ गतेदेखि कल सेन्टर सञ्चालन गरिएको थियो। साथै सुरक्षा निकायबीच सहकार्य र निर्वाचन प्रक्रियाको समन्वयका लागि माघ ११ गतेदेखि संयुक्त निर्वाचन सञ्चालन केन्द्र पनि सञ्चालनमा ल्याइएको थियो।

आयोगका अनुसार यी इकाईहरूले सञ्चालन अवधिभर निर्वाचनसम्बन्धी सूचना व्यवस्थापन र मतदाता शिक्षामा महत्त्वपूर्ण भूमिका खेलेका छन्। सूचना सम्प्रेषण तथा समन्वय केन्द्रअन्तर्गतको सूचना सदाचार प्रवर्धन इकाईले निर्वाचनसम्बन्धी ९९८ वटा हानिकारक सूचना पहिचान गरी विश्लेषणपछि सम्बन्धित नियामक निकायमा पठाएको थियो।

त्यसैगरी, विद्युतीय मतदाता शिक्षा इकाईले निर्वाचन प्रक्रिया, मतदाता शिक्षा तथा सचेतनासम्बन्धी ७०४ वटा भिडियो र पोस्टर सामग्री तयार गरी आयोगका डिजिटल प्लेटफर्ममार्फत सार्वजनिक गरेको आयोगले जनाएको छ।

यस अवधिमा आयोगको प्रेस अफिसले प्रेस ब्रिफिङ, सञ्चार माध्यमसँग समन्वय, दैनिक पत्रपत्रिकामा प्रकाशित सामग्रीको विश्लेषण, आचारसंहिता विपरीतका सामग्री पहिचान तथा मतदाता शिक्षासम्बन्धी सामग्री निर्माणको कामसमेत गरेको थियो।

त्यस्तै, कल सेन्टरमार्फत मतदाता नामावली, निर्वाचन आचारसंहिता, मतदाता शिक्षा तथा निर्वाचन प्रक्रियासम्बन्धी विषयमा आम मतदाताका ८ हजार २२० जिज्ञासाको सम्बोधन गरिएको आयोगले जानकारी दिएको छ।

साताकाे चर्चित
सम्बन्धित