काठमाडाैं
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गलत सूचना प्रवाह गरेर सर्वसाधारण जनतालाई भ्रमित तुल्याउने र समाजमा नकारात्मक भाष्य सिर्जना गर्न खोजिएको बताएका छन् ।
नेपाल बुद्धिजीवी सङ्गठन छैटौं राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । सिर्जनात्मक र सकारात्मक सोचसहित जनतामा आशा प्रवाह गरेरमात्र समाजलाई सही दिशातर्फ लैजान सकिने उनको भनाइ थियो ।
‘सबै नेता उस्तै हुन्, यहाँ केही हुँदैन भन्ने भाष्य गलत हो, जसले नकारात्मक भाष्य बनाएका छन्, उनीहरूमा देश र जनताप्रति माया छैन रहँदैन,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘इतिहासमा योगदान गर्ने शक्तिहरूको पक्षमा सकारात्मक तवरले सन्देश प्रवाह हुनुपर्छ, गर्नुपर्छ । तपाईँ बुद्धिजीवीहरू परिवर्तनका पक्षमा खुलेर बोल्नुस्, डटेर लेख्नुहोस्, कुनै अप्ठ्यारो मान्नुपर्दैन ।’
नेपालको राजनीतिक परिवर्तनमा बुद्धिजीवीको महत्त्वपूर्ण भूमिका रहेको उनले बताए ।
प्रधानमन्त्री प्रचण्डले जनतालाई कतापट्टि डोर्याउने भन्ने सवालमा बुद्धिजीवी निर्णायक हुने भएकाले त्यसतर्फ लाग्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘क्रान्ति, शान्ति प्रक्रिया र संविधान निर्माणमा बुद्धिजीवीको योगदान रहेको छ । हिजो विचार निर्माण र सङ्गठन निर्माणमा बुद्धिजीवीको सक्रियता थियो, आज पनि उत्तिकै छ ।’