काठमाडाैं |
काठमाडौं महानगरपालिकाले यहाँका नदीहरूको सफाइ शुरू गरेको छ ।
वातावरण विभागअन्तर्गतका ५५ जना कर्मचारीको समूहले रुद्रमती (धोबीखोला), कपनको खहरे र बालाजु क्षेत्रबाट बग्ने भचाखुसी सफाइ गरिसकेको छ । सफाइ समूहले अहिले इच्छुमती (टुकुचा) नदी सफाइ गरिरहेको छ ।सफाइ समूहले राजधानीको मध्यभागबाट बग्ने इच्छुमती सफाइमा एक हप्ता बिताइसकेको छ । उक्त समूहले अन्य नदीमा भन्दा इच्छुमतीमा बढी फोहोर भेटिएको समूहका ‘सुपरभाइजर’ सागर लुइँटेलले जानकारी दिए ।रुद्रमतीमा महानगरपालिकाले यन्त्र लगाएर सफाइ गरिरहेको छ ।
महानगरपालिकाको समूहले सफाइ गरुञ्जेल सफा देखिएको रुद्रमतीमा अहिले प्लाष्टिकलगायत फोहोर थुप्रिन थालेको छ ।
सफाइ गरुञ्जेल आकर्षक देखिएको नदी अहिले फेरि फोहोर देखिन थालेको कपनका स्थानीय लक्ष्मण ढकाल बताउँछन् । महानगरपालिकाले सफाइ गर्ने तर नदीमा रेखालु नराख्दा ‘हिँड्दैछ पाइला मेट्दैछ’ भनेजस्तो अवस्था देखिएको उनले सुनाए ।
महानगरपालिकाले यस क्षेत्रका अन्य नदी पनि यसरी सफाइ गर्ने जनाइएको छ । महानगर क्षेत्रका नदीमा सिधै ढल र फोहोर हाल्नाले दुर्गन्धित बनेको छ ।
नदी किनारबाट हिँड्दा नाक थुनेर हिँड्नुपर्ने अवस्था छ । विक्रम संवत् २०७० जेठ ५ गतेदेखि बागमती सफाइ शुरू गरिए पनि नदी अपेक्षाकृत सफा हुन सकेको छैन ।
बागमती सफाइ महाअभियानले ५ सय ८० हप्ता पार गरे पनि नदीको अवस्थामा धेरै परिवर्तन आएको छैन । बागमतीसँगै उपत्यकाका सबै नदी र चक्रपथ सफाइ शुरू भए पनि नदीका अवस्था उस्तै छन् ।
जनस्तरबाट शुरू भएको महाअभियानलाई स्थानीय सरकारले साथ नदिएको गुनासो सुनिने गरेको छ । गुनासोबीच नै महानगरपालिकाले नदी सफाइ शुरू गरेको हो ।