काठमाडाैं |
सेवा सुविधाको माग राख्दै संसद् सचिवालयका कर्मचारी आन्दोलित भएपछि आइतबारको बैठक प्रभावित भएको छ ।
बजेटमाथि मन्त्रीहरूले जवाफ दिने र आजै विनियोजन विधेयक निर्णयार्थ पेश गर्ने कार्यसूची भए पनि संसद् सचिवालयका कर्मचारीको कारण प्रतिनिधि सभाको बैठक करिब डेढ घण्टापछि शुरू भएको छ ।११ बजेका लागि बोलाइएको बैठक सवा १२ बजेपछि शुरू भएको हो ।सेवा सुविधासहितका ११ बुँदे माग राखी संसद् सचिवालयका कर्मचारी केही दिनदेखि आन्दोलनमा छन् ।
उनीहरूले निरन्तर आन्दोलन गरेपछि प्रधानमन्त्री, सभामुखसहितसँग आइतबार बिहान छलफल गरेका थिए । छलफलले कर्मचारीको माग सम्बोधनका लागि कानून मन्त्री पदम गिरीको नेतृत्वमा तीन सदस्यीय समिति गठन भएको छ ।
समितिमा संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डे र अर्थ मन्त्रालयका सचिव मधु मरासिनी सदस्य रहेका छन् ।
कर्मचारीको उपयुक्त मागको विषयमा छलफल गरी समितिले सरकारलाई सुझाव दिनेछ । तर कर्मचारीले आफूहरूको मागको लिखित सम्बोधन हुनुपर्ने अडान लिएका छन् ।
अतिरिक्त समयमा गरेको कामको भुक्तानी पाउनुपर्ने, संघीय संसद् सचिवालय कर्मचारी प्रशासन नियमावली अद्यावधिक गर्नुपर्ने, सवारी चालकका सेवा सुविधासहितका माग उनीहरू राखेका छन् ।