काठमाडाैं
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुसी सेनामा अलपत्र परेका नेपाली नागरिकसँग राति १२ बजेको समयमा फोनमा कुरा गर्ने गरेको दाबी गरेका छन् । उनीहरूलाई फिर्ता ल्याउने उनले बताए ।
मंगलबार प्रतिनिधि सभा बैठकमा परराष्ट्र मन्त्रालय अन्तर्गत बजेटमा उठेका प्रश्नको जवाफ दिने क्रममा प्रचण्डले आफूले रुसी सेनाको युद्ध मोर्चामा रहेका नेपालीसँग फोनमा कुरा गर्ने गरेको बताएका हुन् ।‘नेपालमा प्रधानमन्त्री छ, त्यो पनि अहिले प्रचण्ड भन्ने मान्छे प्रधानमन्त्री छ । सरकारले पठाएर रुसी सेनामा गएका होइनन् नेपाली ।
जे भए पनि जानु दुखद कुरा हो,’ राप्रपा सांसद ज्ञानेन्द्र शाहीले यो देशमा प्रधानमन्त्री छ/छैन भनेर सोधेको प्रश्नमा प्रचण्डले भने, ‘प्रचण्ड भएको हुनाले राति १२ बजे मोर्चामा रहेका लडाई लड्दै गरेकासँग फोनमा कुरा गरिरहेको छु । उनीहरूलाई फिर्ता ल्याउने बारे राय लिएको छु ।’रुसी सेनामा रहेका नेपालीलाई स्वदेश फिर्ता गराउनेबारे रुसस्थित नेपाली दूतावास र नेपालस्थित रुसी दूतावाससँग छलफल भइरहेको उनले जानकारी दिए ।