तनहुँका मुख्य तथा ग्रामीण सडक अवरुद्ध वर्षाले
तनहुँका मुख्य तथा ग्रामीण सडक अवरुद्ध वर्षाले
    • बेल संचार

    • २३ असार २०८१, आईतवार

तनहुँ 

शुक्रबारदेखि परेको वर्षाका कारण तनहुँका मुख्य तथा ग्रामीण सडक अवरुद्ध भएका छन् ।  शनिबार पहिरो गएपछि विभिन्न ठाउँका सडक अवरुद्ध भएका हुन् । भिमाद नगरपालिका–२ हुँदै जाने विभिन्न सडक पहिराका कारण अवरुद्ध भएको वडाध्यक्ष दिनेशकुमार थापाले जानकारी दिए ।

भिमकाली, मिर्दी, किहुँ, उत्तरदक्षिण, बिरुवा, खुदेपानी, धरमपानी हुँदै बडहरभञ्ज्याङ तथा भित्री सडक वर्षाका कारण अवरुद्ध भएका छन् ।

यस्तै घिरिङ गाउँपालिका–२ बैडी सडकखण्ड पनि पहिरोले अवरुद्ध छ । शुक्लागण्डकी नगरपालिका–५ पाटनमा पहिरो खसेपछि उक्त खण्ड अवरुद्ध भएको छ । प्रहरी नायब उपरीक्षक दीपककुमार रायका अनुसार पानी परिरहेकाले पहिराको जोखिम कायमै रहेको छ ।उनले भने, ‘सडक खुलाउने प्रयास भइरहेको छ । पोखरा आउजाउ गर्न वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेका छौँ ।’

दमौलीबाट पोखरा जान भोर्लेटारचोकबाट कलेस्ती, दुइपिप्ले, पोल्याङ, राजाको चौतारा हुँदै जान सकिन्छ ।

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–७ शेरामा कल्भर्ट बगाएर अवरुद्ध भएको सडक १२ घण्टापछि खुलेको छ । शनिबार दिउँसो ४ बजे वर्षाका कारण फेदीखोलामा आएको बाढीले कल्भर्ट बगाउँदा अवरुद्ध भएको उक्त खण्ड आज बिहान ४:५५ बजेदेखि सञ्चालनमा आएको हो ।

खोलाले बगाएको ठाउँमा पुनः कल्भर्ट राखेर सवारीसाधन सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब निरीक्षक सन्तोष पौडेलले जानकारी दिए ।

साताकाे चर्चित
सम्बन्धित