नेत्रहीन क्रिकेट विश्वकप छनौट प्रतियोगिता सम्पन्न
नेत्रहीन क्रिकेट विश्वकप छनौट प्रतियोगिता सम्पन्न
    • शर्मिला विश्वकर्मा

    • २४ असार २०८१, सोमबार

काठमाडौँ 

स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद ” भन्ने नारा सहित राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा नेत्रहीन क्रिकेट संघ नेपालको व्यवस्थापनमा दुई दिने नेत्रहीन क्रिकेट विश्वकप छनौट प्रतियोगिता आइतबार काठमाडौँमा सम्पन्न भएको छ । पारा तथा विशेष खेलकुद प्रतियोगिता २०८० अन्तर्गत यही असार २२ र २३ गते आयोजना गरिएको नेत्रहीन क्रिकेट प्रतियोगिता आगामी नोभेम्बरमा पाकिस्तानमा हुने नेत्रहीन क्रिकेट विश्वकप प्रतियोगिताका लागि १५ जना नेत्रहीन क्रिकेट खेलाडीहरूको छनौट गरिने व्यवस्थापक संस्था नेत्रहीन क्रिकेट संघ नेपालले जानकारी गराएको हो ।

उक्त क्रिकेट प्रतियोगिताको दोस्रो दिन अर्थात् असार २३ गते समापन कार्यक्रमका प्रमुख अतिथि तथा राष्ट्रिय खेलकुद परिषद्का सदस्य विना श्रेष्ठले आगामी दिनमा पनि दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूले खेल्दै आएको नेत्रहीन क्रिकेट खेललाई निरन्तरता दिनु पर्ने भन्दै सफलताको शुभकामना व्यक्त गर्दै खेलाडीहरूलाई मेडल तथा प्रमाणपत्र प्रदान गर्नु भयो ।

नेत्रहीन क्रिकेट प्रतियोगिताको समापनका क्रममा नेत्रहीन क्रिकेट संघ नेपालका अध्यक्ष पवन घिमिरेले आगामी नोभेम्बरमा पाकिस्तानमा हुने नेत्रहीन क्रिकेट विश्वकप प्रतियोगितामा यही खेलबाट छनौट खेलाडीहरू छनौट गरिने भन्दै अबका दिनमा अपाङ्गता भएका खेलाडीहरूका लागि खेलकुद प्रतियोगिता गर्दा अनुकूल समय निर्धारण गरिनु पर्ने सुझाव दिनु भयो ।

त्यसै गरी नेत्रहीन क्रिकेट विश्वकप छनौट प्रतियोगिताका सदस्य रवीन्द्र गुप्ताले राष्ट्रिय खेलकुद परिदले अपाङ्गता भएका खेलाडीहरूका लागि विभिन्न खेल प्रतियोगिताको आयोजना गर्नु भएकोमा धन्यवाद दिँदै नेत्रहीन क्रिकेट खेलाडीहरूलाई शुभकामना तथा बधाई व्यक्त गर्नु भयो ।

अरुण अर्यालको संयोजकत्वमा रहेको ५ सदस्यीय छनौट समितिले यसै प्रतियोगिताका आधारमा नेत्रहीन क्रिकेट विश्वकप प्रतियोगिताका लागि १५ जना नेत्रहीन क्रिकेट खेलाडीहरूको छनौट गरिने नेत्रहीन क्रिकेट संघका कोषाध्यक्ष उपेन्द्र श्रेष्ठले जानकारी दिनु भयो भने काठमाडौँको मुलपानीको क्रिकेट मैदानमा विभिन्न जिल्लाका ३९ जना नेत्रहीन क्रिकेट खेलाडीहरूको सहभागिता रहेको थियो

साताकाे चर्चित
सम्बन्धित