काठमाडौं ।
जेफरसन लेर्माको एक मात्र गोलमा उरुग्वेलाई पराजित गर्दै कोलम्बिया २३ वर्षपछि कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ ।
नर्थ कारोलिनास्थित ब्याङ्क अफ अमेरिका स्टेडियममा बिहीबार बिहान भएको दोस्रो सेमिफाइनलमा दश खेलाडीमा समेटिएको कोलम्बियाले उरुग्वेलाई १-० ले पराजित गर्दै फाइनल पुगेको छ ।
कोलम्बियाले यसअघि सन् २००१ मा कोपाको फाइनल खेलेको थियो । र, त्यसमा मेक्सिकोलाई पराजित गर्दै उपाधि समेत जितेको थियो । त्यसअघि १९७५ मा पहिलो पटक कोपा फाइनल खेल्दा कोलम्बिया पेरुसँग पराजित भएको थियो ।
दोस्रो पटक उपाधि जित्ने लक्ष्यमा रहेको कोलम्बियाले अब १५ पटकको विजेता अर्जेन्टिनासँग फाइनलमा खेल्नेछ ।
लेर्माले खेलको ३९औं मिनेटमा जेम्स रोड्रिग्वेजको पासमा गोल गर्दै कोलम्बियालाई अग्रता दिलाएका थिए । जारी कोपामा छैटौं असिस्ट दिएका रोड्रिग्वेजले एकै संस्करणमा सर्वाधिक असिस्ट गर्ने कीर्तिमान राखेका छन् ।
पहिलो हाफको इन्जुरी टाइममा कोलम्बियाका डानिएन मुनोज रातो (दोहोरो पहेंलो) कार्ड सामना गर्दै मैदान बाहिरिएपछि दश खेलाडीमा समेटिएको थियो ।
दोस्रो हाफमा १० भर्सेस ११ को अवस्थामा रहेपनि कोलम्बियामाथि उरुग्वेल गोल फर्काउन सकेन । कोलम्बियाले दोस्रो हाफको अन्त्यतिर गोल गर्ने दुई राम्रो अवसर गुमाएको थियो ।