ओलीलगत्तै अन्य २१ मन्त्रीले पनि राष्ट्रपतिबाट लिए शपथ
ओलीलगत्तै अन्य २१ मन्त्रीले पनि राष्ट्रपतिबाट लिए शपथ
    • बेल संचार

    • ३१ असार २०८१, सोमबार

काठमाडाैं ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शीतलनिवासमा सोमबार आयोजित समाराेहमा ओलीले प्रधानमन्त्री पदको शपथ लिएका हुन् ।

एमाले संसदीय दलका नेता ओली चौथोपटक प्रधानमन्त्री बनेका हुन् । ओलीलगत्तै अन्य २१ मन्त्रीले पनि राष्ट्रपतिबाट पदको शपथ लिएका छन् ।

सरकारमा दुई उपप्रधानमन्त्री बनेका छन् । जसमा कांग्रेसबाट उपप्रधान तथा शहरी विकास मन्त्रीमा प्रकाशमान सिंह छन् । एमालेबाट विष्णुप्रसाद पौडेल उपप्रधान तथा अर्थमन्त्री बनेका हुन् ।

त्यस्तै, एमालेबाट पृथ्वीसुब्बा गुरुङ सञ्चार र कांग्रेसका रमेश लेखक गृहमन्त्री बनेका छन् ।

एमालेबाट विद्या भट्टराई शिक्षा, देवेन्द्र दाहाल भौतिक पूर्वाधार, दामोदर भण्डारी उद्योग वाणिज्य, बलराम अधिकारी भूमि व्यवस्था, राजकुमार गुप्ता संघीय मामिला र मानवीर राई रक्षा मन्त्री बनेका छन् ।

कांग्रेसबाट अजय चौरसिया कानून, बद्रि पाण्डे पर्यटन, प्रदीप पौडेल स्वास्थ्य, तेजुलाल चौधरी खेलकुद, रामनाथ अधिकारी कृषि मन्त्री, दीपक खड्का उर्जा, डा आरजु राणा परराष्ट्र र ऐनबहादुर शाही वन तथा वातावरण मन्त्री बनेका छन् ।

लोसपाबाट शरतसिंह भण्डारी श्रम तथा रोजगार, जसपाबाट प्रदीप यादव खानेपानी र नवलकिशोर साह सुडी महिला तथा बालबालिका मन्त्री बनेका हुन् ।

साताकाे चर्चित
सम्बन्धित